-->
भक्तपुरमा बिस्केट जात्रा सुरु

भक्तपुर- भैरवनाथको रथ तानेसँगै भक्तपुरमा शनिबार बिस्केट जात्रा सुरु भएको छ। बिस्केट जात्रा ८ रात ९ दिन चल्नेछ। विक्रम संवत्अनुसार सौरमासको आधारमा लिच्छवीकालभन्दा अघिदेखि प्रचलित प्रसिद्ध बिस्केट जात्रा बिस्केट अर्थात् 'सर्प मारियो' भन्ने अर्थमा नेवार समुदायमा मनाइने गरिन्छ।
भक्तपुरको मध्य भाग मानिने प्रसिद्ध पाँचतले मन्दिर अगाडि बनाइएको भैरवनाथको रथ तान्ने क्रमसँगै जात्रा सुरु भएको हो। रथ नगरको तल्लो र माथिल्लो टोलबीच तानातान गर्ने प्रचलन छ। रथको दुवैैतिर मोटा डोरीले तल्लो र माथिल्ला टोलका सयौं युवाले रथ तानेका थिए।

परम्परा अनुसार जात्राको पहिलो दिन रथ तानेर नगरको तल्लो टोलतिर लाने प्रचलनका कारण जात्राको पहिलो दिन रथलाई तल्लो टोलतिर मुख फर्काएर राखिन्छ। पहिलो दिन रथमा तल्लो टोलतिर ६ वटा डोरी हुन्छन् भने माथिल्लो टोलतिर ४ वटा मात्रै डोरी हुन्छन्। तैपनि अहिले दुवै टोलले प्रतिस्पर्धात्मक रुपमा रथ तानानान गर्छन्। परम्परा अनुसार पहिलो दिन रथ तल्लो टोल लगेर गहिटीमा पुर्यािउने चलन छ।

रथमाथि बसेकाले होस्टे र तल डोरी समातेर तान्नेले हैंसै भन्दै भाका हालेर युवाले उत्साहपूर्वक रथ तानेका थिए। रथ तान्न दुवैतिर सयौं युवाहरू उत्साहपूर्वक सहभागी थिए। तल्लो टोलतिरका युवाले बलपूर्वक तानेकाले तल्लोतिर डोरी चुँडिदा केही सामान्य घाइतेसमेत भएका थिए।

भैरवनाथलाई बाजागाजासहित देवताघरबाट रथमा विराजमान गराएर रथमा बसेका नाइकेले होस्टे गरेपछि तल डोरी समातेर बसेका सयौं जात्रालुले हैंसे भन्दै रथ तानेका थिए। जात्रा हेर्न पाँचतले मन्दिर र वरपर हजारौंको भीड लागेको थियो।

करिब ३०/३५ फिट अग्लो प्यागोडा शैलीको तीन तले रथ ४ वटा ठूला काठका पाँग्रासहित काठबाट निर्माण गरिन्छ। रथ निर्माण क्रममा एउटा पनि फलामे किला ठोकिँदैन र चुकुल मात्र प्रयोग गरिन्छ। बर्सेनि नयाँ वर्षभन्दा ५ दिनअघि चैत २७ बाट जात्रा सुरु हुन्छ र वैशाख ५ मा सकिन्छ।

जात्राको मुख्य आकर्षण भैरवनाथको रथ तानातान हो। जात्रा क्रममा रथ तानेर विभिन्न ठाउँमा लाने परम्परा भए पनि पहिलो दिन चैत २७ र अन्तिम दिन वैशाख ५ गते टौमढीमा रथ तानातान नै जात्राको प्रमुख आकर्षण हो। जात्रा क्रममा करिब १५ फिट अग्लो भद्रकालीको रथ निर्माण गरी पनि तान्ने परम्परा छ।

भूकम्पले भक्तपुर क्षतिग्रस्त भएकाले यस वर्ष रथ तानिने रुट छोट्याइएको छ। माथिल्लो टोलतिर बढीमा सुकुलढोका (२ सय मिटर) र तल्लो टोलतिर बढीमा बुलुचा नासमनासम्म (२ सय मिटर) मात्रै तानिने तय गरिएको छ। यसअघि माथिल्लो टोलतिर दत्तात्रय (४ सय मिटर) र तल्लो टोलतिर भार्वाचोसम्म (४ सय मिटर) लाने गरिएको थियो।

अत्यधिक भीड हुने भएकाले जात्रामा प्रहरीले सुरक्षा व्यवस्थामा विशेष ध्यान दिएको जनाएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी किरण बज्राचार्यले जात्रा क्रममा हजार प्रहरी परिचालन गरिएको बताइन्। साथै सशस्त्र र सादा पोसाकमा हजार प्रहरी परिचालन गरिएको उनले बताइन्। जात्रामा कुने उच्छृृंखल घटना रोक्न ठाउँठाउँमा सिसी क्यामेरा जडान गरिएको उनले जनाइन्। यसअघि शान्तिपूर्ण जात्रा मनाउन आह्वानसहित विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा सद्भाव र्या ली निकालिएको थियो। टौमढीबाट सुरु र्या्लीले नगरको विभिन्न भाग परिक्रमा गरेको थियो।

इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ १ हजार ५ सय वर्ष पुरानो बिस्केट जात्रा भक्तपुरको परिचय भएको बताउँछन्। त्यसैले यस्ता जात्रा शान्तिपूर्ण उल्लासमय वातावरणमा मनाउन उनी विशेष जोड दिन्छन्। लिच्छविकालदेखि चलिआएको जात्रा अहिलेसम्म पनि जीवन्त रुपमा चल्नु गौरवको विषय भएको उनी बताउँंछन्।

नौदिने जात्राको अर्काे आकर्षण करिब ५५ हात लामो हात भएको लिंगो उभ्याइनु र ढाल्नु हो। प्रत्येक वर्षको अन्तिम दिन चैत मसान्त साँझ भक्तपुर नगरपालिका वडा नं ११ भेलुखेलमा हजारौं जात्रालुको सहभागितामा हात भएको लिंगो ठड्याउने गरिन्छ। ठड्याइएको भोलिपल्ट वैशाख १ गते उल्लासका साथ लिंगो ढाल्ने परम्परा छ।

वैशाख १ नयाँ वर्षका दिन जात्रा हेरे शत्रुनाश हुने जनविश्वास रहेकाले यो जात्रालाई 'शत्रुहन्त जात्रा' पनि भन्ने गरिन्छ। उता मध्यपुर थिमिको बिस्केट जात्राको मुख्य आकर्षण भने जिब्रो छेड्ने जात्रा हो। बर्सेनि वैशाख २ गते बोडेमा जिब्रो छेड्ने जात्रा हुन्छ। 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.