ताप्लेजुङ, ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनले चढाएको लाखौँ रकम बैंकमा जम्मा नगरिएकाले सड्ने अवस्थामा पुगेको छ ।
विभिन्न विवादका कारण गत मङ्सिरदेखि नै बैंकमा भेटी रकम जम्मा हुन छाडेको हो । पहिले स्थानीयस्तरमा गठन भएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिले भेटिघाटी सङ्कलन गर्ने गरेकामा पारदर्शी नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत सरकारी समिति पाथीभरा क्षेत्र विकास समितिलाई निर्देशन दिएपछि सुरु भएको विवादका कारण सङ्कलित रकम बैंकमा जम्मा हुन छाडेको हो ।
सङ्कलनका सम्बन्धमा विवाद बढ्दै गएपछि स्थानीय प्रशासनको सक्रियतामा दुवै समितिका पदाधिकारी सम्मिलित भेटी व्यवस्थापन समिति गठन गरी सो समितिको खातामा भेटीघाटी जम्मा गर्ने निर्णय भए पनि सो समितिको बैठक बस्न नसक्दा रकम जम्मा हुन नसकेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक उदय भट्टराईले बताउनुभयो ।
समितिका अध्यक्ष जिल्ला बाहिर रहेकाले उहाँ आउनासाथ यसै महिनाभित्र बैठक बसी भेटीस्वरुप प्राप्त रकम जम्मा गर्ने तयारी भइरहेको भट्टराईको भनाइ छ ।
हाल सो मन्दिरमा जम्मा भएको भेटीबापतको ठूलो रकम माथिल्लो फेदीस्थित अस्थायी प्रहरी चौकीमा राखिएको छ भने सानो रकम पाथीभरा मन्दिरमै राखिएको छ । दैनिक सयौँ दर्शनार्थीले दर्शन गर्ने यस मन्दिरमा वार्षिक करोडौँ रकम सङ्कलन हुने गरेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...