चैत्र २५, २०७२- जिल्लालाई गत पुस २५ मा खुला दिसामुक्त घोषणा गरियो । तर, सार्वजानिक र निजी शौचालय अभावमा बटुवा खुला ठाउँमा दिसापिसाब गरिरहेको दृश्य नौलो छैन ।
ग्रामीण क्षेत्रमा मात्र नभई बजार क्षेत्रमा पनि सार्वजानिक शौचालयको प्रबन्ध छैन । कतिपय बस्तीमा स्थानीय बासिन्दाले निजी शौचालय पनि बनाइसकेका छैनन् । अधिकांश खुला ठाउँमा शौच गर्छन् । तर, हातहातमा महंगो मूल्यका मोबाइल सेट देख्न सकिन्छ ।
निजी र सार्वजनिक शौचालयबारे यकिन जानकारी सरोकारवाला निकायहरूसँग छैन । शौचालय बनाउनु पर्ने चेतना नभएका व्यक्ति र परिवार महंगा मोबाइल सेटको पहुँचबाहिर छैनन् । उनीहरू नै आर्थिक कारण देखाएर शौचालय निर्माण गर्दैनन् ।
चार नगरपालिका र ५३ गाविस भएको जिल्लामा करिब एक लाख जनाले नेपाल टेलिकमको सिमकार्ड लिएका छन् । एनसेललगायत सेवा प्रदायक कम्पनीको सिम लिएकाहरूको संख्या यकिन छैन । करीब ९० प्रतिशत जिल्लावासी मोबाइलको पहुँचमा छन् ।
करिब ४० प्रतिशत घरमा मात्र शौचालय निर्माण भएका छन् । मुलुककै शिक्षित जिल्ला स्याङजा शौचालय प्रयोगको हिसाबले निकै पछाडि रहेको स्थानीय शिव कोइरालाले बताए ।
‘फजुल खर्च गर्नमा यहाँका बासिन्दा जति अगाडि छन्, शौचालय निर्माणका लागि खर्च गर्न तयार हुँदैनन्,’ उनले भने, ‘सरोकारवाला निकायले चासो नदिँदा यसतर्फ चेतना विकास हुन सकेको छैन ।’
सम्बन्धित निकायले शौचालय बनाउन प्रोत्साहन गर्नुभन्दा पनि खुला दिसामुक्त घोषणा गरी दायित्वबाट पन्छिने गरेको स्थानीय बासिन्दाको भनाइ छ । सदरमुकाम पुतलीबजार नगरपालिका र जिविस कार्यालय आसपासका दलित बस्तीमा कच्ची शौचालयसमेत देखिँदैन ।
स्थानीय सोमबहादुर नेपालीका अनुसार नगरपालिका कर्मचारी आएर शौचालय बनाउने निर्देशन दिए । त्यसपछि कोही आएन । शौचालयका लागि कतैबाट आर्थिक सहयोगसमेत नपाएको उनले बताए ।
प्रकाशित: चैत्र २५, २०७२
0 comments
प्रतिक्रिया दिनुहोस्...