बिस्केट जात्रामा रथमा च्यापिएर घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ। भक्तपुर नगरपालिकाका ४५ वर्षीय लक्ष्मीप्रसाद त्यातको वीर अस्पताल ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिइन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।
दुई भेगका बासिन्दाबीच ढुंगा हानाहान
जात्राका क्रममा शनिबार मध्यरातिसम्म तौमढी (पाँचतले मन्दिर)बाट तल्लो र माथिल्लो भेगका बासिन्दाबीच ढुंगा हानाहान भएको छ। अपराह्न ५ बजेर १५ मिनेटमा तौमढीबाट तल र माथिका बासिन्दाले भैरवको रथ तान्न सुरु गरेका थिए। रथ माथिल्लो भेगका बासिन्दाले गोल्मढीसम्म पुर्याएका थिए।
विगतमा दत्तात्रयसम्म पुर्याइने रथ यस वर्ष भूकम्पले टेको लगाइएका घरहरू भत्किन सक्ने भन्दै प्रहरीले क्वाछेबाट माथि लैजान नदिन बार लगाए पनि स्थानीयवासीले बार हटाएर गोल्मढीसम्म पुर्याएका थए । गोल्मढीबाट रथलाई तानेर पुन: तौमढी ल्याइएपछि नासमनातर्फ लैजाने कि ग:हिटीमै राख्ने भन्ने विवाद भएपछि राति ९ बजेदेखि ढुंगा हानाहान भएको थियो।
प्रहरीको उच्च सुरक्षा सतर्कता
तल्लो टोल र माथिल्लो टोलका बासिन्दाले रथलाई आ–आफ्नो टोलमा लैजाँदा ढुंगा हानाहान भई अप्रिय घटनासमेत घट्ने गरेको छ। जात्रा अवधिभरका लागि प्रहरी प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ। जात्राका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सिभिल प्रहरी गरी एक हजार एक सय प्रहरी परिचालन गरिएका छन्। जात्राका समयमा विद्युत् कटौतीसमेत गरिएको छैन।
0 comments
प्रतिक्रिया दिनुहोस्...