नेपालले २०१६ मै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने
काठमाडौं, ३० चैत - नेपाली राष्ट्रिय फुटवल टोली प्रतियोगिताबिहीन हुनु नपर्ने भएको छ।
नोभेम्बरमा एशियाली फुटबल महासंघ एएफसीले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको लागि प्रस्ताव गरेको छ। जुन प्रतियोगिताले एएफसी च्यालेन्ज कपलाई प्रतिस्थापन गर्नेछ।मलेसियाको क्वालालम्पुरमा बसेको एशियाली फुटबल महासंघ एएफसीको प्रतियोगिता आयोजना कमिटीको बैठकमा एएफसी च्यालेन्स कपको स्थानमा नयाँ प्रतियोगिता आयोजना गर्न सकिने प्रस्ताव पेश भएको हो। नयाँ प्रतियोगिताको नाम भने तोकिएको छैन।
प्रतियोगिता नोभेम्बर २०१६ र सेप्टेम्बर २०२० मा गर्न प्रस्ताव गरिएको छ। एशियाली मुलुकका कमजोर बरियाताका मुलुकहरुबीच प्रतियोगिता आयोजना गर्न लागिएको हो। जसले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलहरु आयोजना गर्न सक्दैनन्।
प्रतियोगितामा नेपाल लगायत ब्रुनाई, मकाउ, मंगोलिया, पाकिस्तान र श्रीलंकालाई समावेश गरिने छ भने बाँकी दुई टोली युएईमा सन् २०१९ मा हुने एशियाली कप छनौटको प्लेअफबाट बाहिरिएका दुई टोलीहरुलाई समावेश गरिनेछ। एएफसीको बैठकले सबैको सहमतिमा प्रतियोगितास्थल छनौट गर्न सकिने पनि प्रष्ट पारेको छ।
१४ दिनसम्म चल्ने प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा बिभाजन गरिनेछ। प्रतियोगितामा सहभागी मुलुकको फुटबल संघलाई प्रतियोगितामात्र नभई रेफ्री, प्रशिक्षक, टेक्निकल र इभेन्ट म्यानेजमेन्टका कोर्षहरुपनि सञ्चालन गरिनेछ।
एएफसी च्यालेन्ज कप फुटवल पछिल्लो पटक काठमाडौंमै २०१४ मा आयोजना गरिएको थियो। त्यसयता यस प्रतियोगिताको आयोजना अनिश्चित बन्दै आएको थियो।
दुई महिनाअघि भारतमा सम्पन्न १२औं सागको स्वर्ण जितेपछि नेपाली फुटबलटोली सन् २०१७ को अन्त्यसम्म प्रतियोगिताबिहीन थियो। राष्ट्रिय टोलीलाई व्यस्त बनाइराख्ने योजना अनुसार नेपालले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल्ने निर्णय एन्फाले गरेको थियो। त्यसै अनुसार दुई साताअघि नेपालले मलेशियाको युवा टोलीसँग मैत्रिपूर्ण फुटबल खेलेको थियो। नेपालले आगामी मे मा मलेसियाकै राष्ट्रिय टोलीसँग अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेल्दैछ।


0 comments
प्रतिक्रिया दिनुहोस्...