ताप्लेजुङमा साँढे पाँच अर्बको अलैंची उत्पादन
ताप्लेजुङ: जिल्लामा यो वर्ष पाँच अर्ब ६० करोड रुपैयाँ बराबरको अलैंची उत्पादन भएको छ। ताप्लेजुङ नेपालमा सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्लामा पर्छ।
कालो सुन उपनामले चिनिने पहाडी जिल्लाको प्रमुख नगदेबालीका रूपमा रहेको अलैंची उत्पादन बढेसँगै यहाँका किसान मोटो रकम हातपार्न सफल भएका छन्।पात खाने र गानो कुहिने रोगमा आएको नियन्त्रणका कारण विगत पाँच वर्षयता यो वर्ष अलैंचीबाट सबैभन्दा धेरै आम्दानी भएको हो। गत वर्ष दुई मन अलैंची फलेको वगानमा यो वर्ष १० मन फलेको सिकैचाका किसान मदनकृष्ण दाहालले जानकारी दिए।
अलैंचीबाट उनले यो वर्ष साढे आठ लाख नगद साटेका छन् । एकै वर्षको उत्पादनबाट यति मोटो रकम साट्न सफल भएका उनी आगामी वर्ष यो उत्पादनलाई दोब्बर बनाउने हिसावले बगान व्यवस्थापन गरिरहेका छन्।
३० रोपनी जमिनमा अलैंचीको व्यावसायिक खेती गरेका उनले सात वर्षअघि यस बगानमा २५ मन अलैंची फलाएका थिए । त्यसयता लगातार ओरालो लागेको उत्पादनले यो वर्ष बल्ल छलाङ मारेको अलैंची किसान दाहाल बताउँछन्।
यो वर्ष जिल्लामा कुल दुई हजार चार सय ९० मेट्रिकटन अलैंची उत्पादन भएको छ। यो उत्पादन गत वर्ष भन्दा झण्डै दोब्बर बढी हो।
जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका अनुसार यो वर्ष जिल्लामा कुल दुई हजार चार सय ९० मेट्रिकटन अलैंची उत्पादन भएको छ। यो उत्पादन गत वर्ष भन्दा झण्डै दोब्बर बढी हो।
गत वर्ष जस्तो अलैंचीको मूल्य यो वर्ष नभए पनि उत्पादनमा वृद्धि भएकोले आम्दानी बढेको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रविन्द्रबहादुर प्रधानले बताए। उनका अनुसार अलैंचीको मूल्यमा उतारचढाव भइरहेका कारण औसत प्रतिमन ९० हजारका दरले हिसाव गर्दा पनि ताप्लेजुङका किसानले यो वर्ष पाँच अर्ब ६० करोडको अलैंची फलाएका छन्।
गत वर्ष ताप्लेजुङमा प्रतिमन एक लाख १५ हजार रुपैयाँसम्ममा अलैंचीको कारोबार भएको थियो। यस वर्षको तुलनामा उत्पादन निकै कम भए पनि अलैंचीले राम्रो मूल्य पाएका कारण ताप्लेजुङका किसानले गत वर्ष झन्डै पौने चार अर्बको अलैंची बिक्री गरेका थिए।
तर यो वर्ष पर्याप्त वर्षा हुनुको साथै रोग र किराको प्रकोपसमेत कम भएकोले अलैंचीको उत्पादन र आम्दानी दुवै राम्रो भएको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका वागवानी विकास अधिकृत उमेश राउतले बताए। उनका अनुसार गत वर्ष राम्रो वर्षा भएका कारण पहिला सर्लक्कै सुकेका वगान पनि फिरेका छन् भने गानो कुहिने, बगान डढ्ने, गवारो, झुसिल किरा जस्ता रोग,किराको समस्या पनि कम भएका कारण अलैंची उत्पादन बढेको छ।
एक नगरपालिका सहित ४८ गाविस रहेको ताप्लेजुङमा ओलाङचुङगोला गाविस बाहेक अन्य सबै गाविसमा अलैंची खेती हुने गरेको छ। आकर्षक मूल्यमा बिक्री हुन थालेसँगै अलैंची खेती गर्ने किसानको संख्या थपिएको छ। ताप्लेजुङमा कुल चार हजार पाँच सय हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिएको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको छ।
0 comments
प्रतिक्रिया दिनुहोस्...