पूर्वसेनापति छत्रमानले ल्याए ‘जनताको छोरो’
लोकतान्त्रिक पद्धतिबाट हिँड्न आवश्यक छः पूर्वराष्ट्रपति यादव
काठमाडौँः नेपाली सेनाका पूर्वप्रधानसेनापति छत्रमान गुरुङको आत्मकथामा आधारित कृति ‘जनताको छोरो’ आइतबार सार्वजनिक भएको छ । आइतबार पूर्वराष्ट्रपति डा रामवरण यादवले गुरुङको आत्मकथा सार्वजनिक गरे । पुस्तकमाथि समीक्षा गर्दै प्रा लोकराज बरालले जनताको छोरो ठेट शब्दको प्रयोग र सरल भाषामा आएको चर्चा गरे ।
बरालले जनताको छोरो पुस्तकको अध्ययनबाट सेनापति गुरुङले नेतृत्व गरेको समयमा नेपाली सेनाको सङ्गठन सुदृढीकरण र विकासका बारेमा विस्तृतरुपमा जानकारी आर्जन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
लेखक गुरुङले २०६६ भदौ २४ देखि २०६९ भदौ २४ गतेसम्म नेपाली सेनाको महारथीको जिम्मेवारी सम्हालेका बखत नेपाली सेनासँग सम्बन्धित रहेभएका निर्णय, विकास र विस्तारका विषयवस्तु पुस्तकमा समेटिएको जानकारी दिए ।
पूर्वप्रधानसेनापतिकी धर्मपत्नी कमला गुरुङ प्रकाशक रहेको पुस्तकको मुल्य ५०० राखिएको छ । प्रकाशक गुरुङले जनताको छोरो प्रधानसेनापति आफ्नो पदीय जिम्मेवारी र अनुभवको दस्तावेजका रुपमा आएको बताइन ।
तीन सय ७८ पृष्ठ रहेको उक्त पुस्तकमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको विवाद, नेपालमा अनमिन, माओवादी लडाकुको समायोजन, लडाकु, हतियार र शिविर नेपाली सेनाको मातहतमा आएको प्रसङ्ग, आफ्नो तीनवर्षे कार्यकालको उपलब्धि, विदेश भ्रमण तथा पुलिमराङदेखि शशि भवनसम्मका विषयवस्तुलाई आत्मकथाको रुपमा प्रस्तुत गरिएको छ ।
पुस्तकको आइतबार लोकार्पण गर्दै पूर्वराष्ट्रपति यादवले संसदबाटै समस्याको समाधान गर्न सबैलाई आग्रह गरे । उनले भने, ‘लोकतन्त्रको बाटो र विधिबाट हिँडेर संसद्बाटै समस्याको समाधान खोज्न आन्दोलनरत दलहरुलाई म आह्वान गर्दछु ।’
आफ्नो घरभित्रको समस्या समाधान नगर्ने अनि अरुलाई दोष दिने काम गर्नु हुँदैन भन्दै पूर्वराष्ट्रपति यादवले मुलुकको प्राकृतिक स्रोत साधन र सम्पदाको दोहन र नोक्सानी हुँदा कुनै राजनीतिक दल नबोलेको भनी चिन्ता व्यक्त गरे ।
‘मुलुकमा गणतन्त्र र लोकतन्त्र आएको छ, कानुनी शासनको जति नै रटान दिएपनि राज्यका संयन्त्रलाई प्रजातान्त्रिक ढङ्गबाट अघि बढाउन राजनीतिक दलको ध्यान पुगेको छैन, सङ्घसंस्था धरासायी बनाउने काम भइरहेको छ,’ यादवले भने ।
नेपाली सेना जहिले पनि लोकतन्त्रको पक्षमा उभिएको चर्चा गर्दै उनले सेनाको छविलाई धुमिल गर्ने प्रयासलाई रोकेर आफूले सङ्गठनलाई बचाए पनि न्यायालय र अरु सुरक्षा सङ्गठनमा भने राजनीतिक हस्तक्षेपका कारण क्षतविक्षत् भएको गुनासो गरे ।
राष्ट्र र राष्ट्रियतालाई केन्दबिन्दुमा राखेर आफूले काम गरेको बताउँदै पूर्वराष्ट्रपति यादवले राजनीतिभन्दा माथि उठेर राष्ट्रलाई ध्यान दिएर प्रमुख तीन दल र मधेसी मोर्चाको सहमतिमा आई समस्याको निकास खोज्ने भूमिका निर्वाह गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिए ।
पूर्वप्रधानमन्त्री एवम् एमाले नेता माधवकुमार नेपालले नेपाली सेना लोकतन्त्रको बाधकका रुपमा कहिल्यै नउभिएको बताए । उनले भने, ‘नेपाली सेना सत्ता हातमा लिने धारणाबाट कहिल्यै चलेन, जहिले पनि लोकतन्त्रप्रति सद्भाव राखेको पाउँछु ।’ रासस
0 comments
प्रतिक्रिया दिनुहोस्...