-->
शाहरुख खानमाथि लाग्यो चोरीको आरोप

न्याय खोज्दै कथाकार उच्चअदालत पुगे 
एजेन्सी: बलिउड अभिनेता शाहरुख खानमाथि एक फिल्मको कथा चोरेको आरोप लागेको छ । रिलिजको तयारीमा रहेको फिल्म 'फ्यान' का लागि कथा चोरेको आरोप लागेपछि शाहरुख संकटमा परेका हुन् । 
 
कथा चोरेको आरोपमा शाहरुखले भने आफ्नो नयाँ फिल्म 'फ्यान' को कथा मौलिक रहेको दाबी गरेका छन् । 
 
शाहरुखले भने, 'फिल्म मौलिक सोचमा आधारित छ। एक अभिनेता र उसको फ्यानको कथा यसमा छ । यसमा कयौं विषय र कहानी हुनसक्छन् । यो फिल्मको कुनै पनि विषय र कहानी अन्य फिल्मको कहानीसँग मिल्न सम्भव छैन ।'
 
 
यशराज ब्यानरमा बनेको यो फिल्म 'फ्यान' १५ अप्रिलमा रिलिज हुने तयारीमा छ । मनिष शर्माको निर्देशनमा बनेको यो फिल्ममाथि हलिउड फिल्मको 'कपी' भएको आरोप लागिरहेको छ । 
 
यसैबीच केही निर्देशक र स्क्रिप्ट राइटरहरुले फिल्ममा आफ्नो क्रेडिट हुनुपर्ने र मुआब्जा पाउनुपर्ने माग गर्दै मुम्बई उच्च अदालतमा पुगेका छन् । 
 
सन् २०१४ मा आएको फिल्म 'कहीँ है मेरा प्यार' का निर्देशक महेश वैजनाथ डोईजोडेले 'फ्यान' को कहानी उनले लेखेको फिल्म 'अभिनेता' बाट कपी गरिएको आरोप लगाएका छ्न् । 
 
महेशले दाबी गरे अनुसार 'अभिनेता' को कहानी उनले सन् १९९४ मा लेखेका थिए । यो कहानीलाई सन् १९९७ मा दर्ता गरिएको थियो । 
 
महेशले भने, 'मैले शाहरुखलाई दिमागमा राखेर यो कहानी लेखेको थिएँ । सन् १९९७ मा 'दिल तो पागल हे' को सुटिङको समयमा मैले यो कथा यश चोपडालाई सुनाएको थिएँ । कथा सुनेर उनले मेरो पिठ्यु थप्थपाएका थिए।'
 
सन् १९९८ मा आफूले शाहरुखलाई पनि यो कथा सुनाएको उनले बताएका छन् । उनले पनि आफूले लेखेको कथा मन पराएको उनको दाबी छ । 
 
'त्यसपछि मैले यशराज फिल्म्सको चक्कर काटिरहेँ । ताकि मेरो कथामा फिल्म बनोस्', उनले भनेका छन् । अहिले महेशले बताए अनुसार सोमवार यो मुद्दाबारे मुम्बई उच्च अदालतमा सुनुवाइ हुनेछ । फैसलामा चित्त नबुझे आफू सर्वोच्च अदालतमा पनि जाने उनले चेतावनी दिएका छन् । 
 
महेशका अनुसार सन् २००५ मा यश चोपडासँग दुई घन्टाको भेटवार्ताको अडियो भिडियो रेकर्ड पनि सुरक्षित रहेको छ। यसका अलावा फिल्म 'फ्यान' का निर्देशक मनिषलाई पनि आफूले यो कथा सन् २००६ मै सुनाएको दाबी गरेका छन् । 
 
'शाहरुखले झुठ बोलिरहे । उनको बयानलाई तपाईंले नै हेर्नुस् । पहिले मनीषले आफूलाई यो कथा बताएका भने । अहिले टीभी शो 'कमेडी नाइट्स बचाओ' मा यशजीले आफूलाई कथा सुनाएको भन्दैछन् ।'
 
महेश आफू ब्यस्त भएकाले समयमै अदालत जान नपाएको बताएका छन्।महेशले यो दाबी गरिरहँदा फिल्म 'फ्यान' को ट्रेलर पनि आइसकेको छ ।
 
उता फिल्मको प्रमोशनमा व्यस्त शाहरुख खानलले भने, 'मलाई यस केसको बारेमा अहिलेसम्म कुनै जानकारी छैन । फिल्मको कथा चोरेको आरोप सरासर गलत हो ।'
शाहरुखले फिल्म 'रा-वन' मा पनि आफूलाई यस्तै आरोप लागेको बताए । शाहरुखले आफ्नो फिल्म बनिसकेको अवस्थामा चोरीको आरोप लाउने कथाकारले अहिलेसम्म किन फिल्म बनाएनन् भन्ने प्रश्न गरेका छन् । 
 
महेशका अलावा मोहनकुमार नामका स्क्रिप्ट राइटरले पनि स्क्रिप्ट चोरीको आरोप लगाएका छन्।  मोहनले आफूले सन् २००८ मा यो कथा लेखेको बताउँदै फिल्म राइटर्स एसोसिएशनमा दर्ता पनि गरेको दाबी गरेका छन् । 
 
मोहनले आफ्नो कथामा 'डमी' नामको फिल्म पनि बनिसकेको जिकिर गरेका छन् । मोहनले आफ्नो फेसबुकमा एक पोस्ट गर्दै यो मामिलालाई उच्च अदालतसम्म लैजाने बताएका छन् । 



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.