चैत्र २४, २०७२- ‘महिलाले पनि फुटबल खेल्छन र ?’, १२ वर्षअघि फुटबलको तालिम लिँदा अनु लामालाई धेरैले सोध्ने गरेका थिए । अहिले उनी नेपाली राष्ट्रिय महिला टिमकी कप्तान छिन् । नेपालका लागि ३५ गोलको कीर्तिमान पनि गरेकी छन् ।
‘छोरीले खेलेर केही गर्न सक्दैन भन्थे,’ फुटबलको माध्यमबाट महिला सशक्तीकरणबारे मंगलबार राजधानीमा आयोजित अन्तक्र्रियामा उनले भनिन्, ‘घरबाट फुटबल बुट किनिदिने अवस्था पनि थिएन तैपनि खेलिरह्यौं । प्रशिक्षण सुरु गर्दा सुरुमा १० जना थियौं । पछि २० जना भयौं ।’ उनले सन् २००४ मा नेपाल ११ टिममा मौका पाउँदा गोल पनि गरेकी थिइन् । ‘त्यो खबर मिडियामा आएपछि मात्र छोरीले केही गरी भन्दै बुबाले समर्थन गर्नुभयो,’ उनले सम्झिइन् ।
दक्षिण एसियाली खेलकुद (साग) का पछिल्ला दुई र साफ वुमेन्स च्याम्पियनसिपका तीनै संस्करणमा नेपाललाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण योगदान गरेकी २७ वर्षीया फरवार्ड अनुले घरेलु फुटबलबारे भनिन्, ‘अहिले महिला फुटबलको क्रेज अलि बढेको छ । तर, यू–१४ च्याम्पियनसिप वर्षमा एकपल्ट मात्र हुन्छ । सिनियरले पनि मुस्किलले वर्षमा एकपल्ट प्रतियोगिता खेल्ने मौका पाउँछ । महिलाका लागि २०७२ सालमा त प्रधानसेनापति कपबाहेक अरू प्रतियोगिता नै भएको छैन ।’
२०६३ सालमा सशस्त्र प्रहरी बलमा भर्ना हुँदै एपीएफ क्लबकी खेलाडी बनेकी उनले थपिन्, ‘केटाहरूको एकेडेमी छ, होस्टेल छ । महिलाको लागि छैन । केटाहरूको लिग तीन महिनासम्म चल्छ, हाम्रो १२ दिन मात्र । यसैबाट पनि लैंगिक समानता कस्तो छ भन्ने बुझन् सकिन्छ ।’ ११ औं सागदेखि लगातार सबै प्रतियोगितामा उपविजेता हुँदा सधैं ५० हजार रुपैयाँ मात्र पुरस्कार पाएको उनले बताइन् ।
‘शिक्षित धेरै भएको काठमाडौंलाई मात्र हेरेर हुन्न,’ पुरुष फुटबलर रोहित चन्दले भने, ‘म यस्तो सहर (सुर्खेत) बाट आएको हुँ, जहाँ केटाको गेम हुन्छ केटीको हुँदैन । अभिभावकको पनि समर्थन हुन्न, छोरीलाई खेलमा भविष्य छैन भन्छन् ।’
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले प्रत्येक फुटबल संघलाई पठाउने रकममध्ये १५ प्रतिशत महिला फुटबलमा लगानी गर्नुपर्ने प्रावधान राखेको छ । एन्फाले महिलाको राष्ट्रिय प्रतियोगिता वार्षिक एकपल्ट झारा टार्ने किसिमले आयोजना गर्दै आएको छ । एन्फाले महिला लिग २०६९ मा मात्र सञ्चालन गरेको थियो । ‘त्यही लिग पनि १२ दिनको । पुरुषको भने तीन महिनासम्म चल्छ,’ अनुले भनिन् ।
सन् १९९९ को महिला विश्वकप च्याम्पियन अमेरिकी मिडफिल्डर लोरी फेयर र गोलकिपर ट्रेसी नोनाम फुटबलको माध्यमबाट महिला सशक्तीकरण अभियानमा सक्रीय छन् । यही क्रममा उनीहरू एक सातालाई नेपाल आएका छन् ।
एक सय २० क्याप जितेकी ३७ वर्षीया लोरी सन् २००४ को ओलम्पिक स्वर्ण र २००० को रजतपदक विजेता टिमकी पनि महत्त्वपूर्ण खेलाडी थिइन् । नोनामले भने टिममा रहे पनि १९९९ को विश्वकपमा गोलपोस्ट सम्हाल्ने अवसर पाएकी थिइनन् ।
‘पहिले विश्वास गर्नुपर्छ अनि मौका दिनुपर्छ,’ फुटबलमय पारिवारमा हुर्किएकी लोरीले भनिन्, ‘यो शारीरिक र मानसिक सहयोगको कुरा पनि हो । महिलालाई पनि समुदायले साथ दिनुपर्छ । बलियो र सुरक्षित तवरले मौका दिनुपर्छ ।’
अमेरिकी आमाले पनि बल्ल छोरीलाई फुटबल खेलाउन साथ दिन थालेको उल्लेख गर्दै उनले भनिन्, ‘सन् १९९१ को विश्वकप जित्दा एक सञ्चारकर्मी र अभिाभावक विमानस्थलमा हेलो भन्न पुगेका थिए । १९९९ मा ९० हजार उपस्थित थिए ।’
‘मैलेजस्तो खेल्ने मौका आमाले पाएकी थिइनन्,’ देशको नीति नियमले पनि ठूलो फरक पार्ने उल्लेख गर्दै नोनामले भनिन्, ‘मैले खेल सुरु गर्दा महिलाको लागि कुनै कोष थिएन । ओलम्पिक (१९९६) जितेपछि सुविधा दिन थालियो । विश्वकप (१९९९) च्याम्पियन भएपछि खेलाडीलाई तलबको व्यवस्था गरियो । अहिले खेल र वातावरणमा समानताका लागि संघर्ष गरिरहेका छौं ।’
0 comments
प्रतिक्रिया दिनुहोस्...