चैत्र २९, २०७२- नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मधेसको माग सम्बोधन गर्न राष्ट्रिय आन्दोलनको आवश्यकता औंल्याएका छन् ।
नयाँ शक्ति नेपालको सोमवारदेखि यहाँ सुरु भएको राज्यस्तरीय अन्तरिम परिषद्को दोश्रो बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘नयाँ संविधानमा मधेसी, थारु, आदिवासी जनजातिलगायतका जात–जाति, वर्ग तथा क्षेत्रसँग विभेद भएकै हो । यस राष्ट्रिय समस्याको समाधान मधेस आन्दोलनबाटमात्र सम्भव छैन । राष्ट्रिय आन्दोलनबाटै हुन्छ ।’
मधेसीहरुले प्रमुखताका साथ उठाउँदै आएको सिमांकन सम्बन्धी मुद्दामा आफूहरु पनि सहमत रहेको उल्लेख गर्दै भट्टराईले मधेसी जनताका चाहना तथा समस्या बुझ्न मध्य मधेसका सप्तरीदेखि कपिलवस्तुसम्म स्वयं स्थलगत भ्रमण गर्ने जानकारी दिए ।
नयाँ शक्ति नेपाल वैशाख ३ गतेदेखि १० गतेसम्म हुलाकी राजमार्गको स्थलगत भ्रमण गर्ने योजना बनाएको छ । सप्तरीबाट सुरु हुने यो भ्रमण कपिलवस्तुमा गएर सम्पन्न हुनेछ । यस क्रममा हुलाकी सडकमा पर्ने गाउँ तथा चौकहरुमा स–साना सभा एवं आम जनताको राय सुझाव समेत संकलन गरिने जानकारी संयोजक भट्टराईले दिए ।
नयाँ संविधानमा केही त्रुटि रहे पनि च्यातेर फाल्ने खालको नरहेको भट्टराईको दावी थियो । उनको भनाइ थियो, ‘संविधान च्यातेर काम हुँदैन । यसमा केही राम्रा कुराहरु पनि छन् । सालनाल सहितको बच्चा फाल्नु भन्दा सालनाल फाल्नु बुद्धिमानी हुनेछ ।’


0 comments
प्रतिक्रिया दिनुहोस्...