-->
मंगलबारदेखि ग्यास उद्योग र पसल अनुगमन गरिने

सर्वसाधारणले सहज रुपमा ग्यास पाउन नसकेको भन्दै व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिले ग्यास उद्योग तथा पसलहरुको अनुगमन गर्ने भएको छ।
 
नाकाबन्दी हटेको लामो समय भएको र सामान्य अवस्थामाभन्दा बढी आयात हुँदा पनि उपभोक्ताले  ग्यास पाउन हप्तौं कुर्नुपर्ने तर बढी मूल्य तिरेर भने सजिलै पाइने अवस्था भएकाले समितिले भोलि मंगलबारदेखि उद्योग र पसलहरुको अनुगमन गर्ने निर्णय गरेको हो। 
 
समितिले अनुगमन गर्ने उद्योग र क्षेत्रको विवरण भने गोप्य राखेको छ। समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा सदस्यहरुले नेपाल आयल निगमले निर्धारण गरेको मूल्यमा आफूहरुले सहजै ग्यास पाउन नसकेको तर बढी मूल्य तिर्दा भने छ्याप्छ्याप्ती पाइएको भन्दै अनुगमन गरेर कालोबजारी गर्नेमाथि कारवाही गर्नुपर्नेमा जोड दिएको छन्।
 
उनीहरुले निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्कासँग घरमा भएका सबै सिलिण्डर रित्ता भएको तर पसलेले छैन भनेर जवाफ फर्काउने गरेको भन्दै आपूर्ति कहिलेबाट सहज हुन्छ भनेर प्रश्न गरेका थिए। 
 
सदस्यहरुले  निगमको लापर्वाही तथा अन्य नियामक निकायको कमजोरीका कारण उपभोक्ता कालोबजारीको मार सहन बाध्य भएको बताए।
 
बैठकमा नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले नेपालको आफ्नो बुलेट नभएको, निगम र ग्यास उद्योगीसँग भण्डारण क्षमता नरहेकोलगायतका कारण मागअनुसार आयात गर्न नसक्दा अभाव भएको बताएका छन्। उनले डिजेल र पेट्रोल भने सामान्य अवस्थाको भन्दा दोब्बर परिमाणमा वितरण गरिरहेको दाबी गरेका छन्।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.