-->
बद्री पंगेनी भन्छन्, ‘नेताज्यू चिल्ला कारमा फस्ने नगर

फोटो :फाइल

सन्धिखर्कः लौन नेताज्यू सेंगलेंगतिर आऊन कहिलेकाहीँ

किन नेताज्यू हाम्रो भेट हुन्न पहिलेझैँ

गायक बद्री पंगेनीले मञ्चमा आएर यो गीत गाउन थालेपछि दर्शकले चुनावको बेला गाउँ आएका नेतालाई सम्झिए । नेताले भोट माग्दा गरेका वाचा र दिएका आश्वासन पनि सम्झिए । बद्रीको तालमा कोही नाचे कसैले सँगसँगै गीत पनि गाए ।

जनताका गीत त गाउने कलाकार बद्रीले गाएका गीतमा गाउँका समस्या सुनिएका थिए । उनले ‘हाम्रो गाउँमा स्कुल छैन, बाटो छैन, पानी छैन, जनतालाई साँझ बिहान पेटभरि खान छैन’ भन्दै गीत गाउँदा तालीका साथमा गाउँलेले आफ्नो अवस्था सम्झिइरहेका थिए ।

अर्घाखाँचीको धनचौर गाविसको सेंगलेंगमा स्थानीय दीपज्योति युवा क्लबले आयोजना गरेको बृहत् सेंगलेंग महोत्सवमा पंगेनीले ‘सुन नेताज्यू सहरमात्र बस्ने नगर ल है नेताज्यू चिल्ला कारमा फस्ने नगर’ र ‘अझै पनि लोकतन्त्र आको छैन है, जनताले भने झै भाको छैन है’ गीत गाउँदै दर्शकलाई मनोरञ्जनका साथमा नेताप्रति व्यंग्य गरे ।

प्रचारप्रसारको अभावमा ओझेलमा परेको सेंगलेंगलाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने उद्देश्यले आयोजित सांस्कृतिक कार्यक्रममा कल्पना श्रीपाल, जीवन परियार, हास्य कलाकार राजा राजेन्द्र पोख्रेललगायतको प्रस्तुति आकर्षक थियो ।

प्रवासमा रहने धनचौर र ढिकुरा गाविसका युवाले कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले मन्तव्य राख्दै पर्यटकीयस्थल सेंगलेंग र तालको विकासमा आफू प्रतिबद्ध भएर लाग्ने बताए । उनले लुम्बिनीमा आएका पर्यटकलाई जिल्लामा भित्र्याउन आफूले पहल गरिरहेको पनि बताए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.