लुम्बिनी प्रवर्द्धन गर्न काठमाडौंमा बौद्ध सम्मेलन
काठमाडौं: लुम्बिनी क्षेत्रको प्रवद्र्धनका लागि आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन काठमाडौंमा हुने भएको छ।
नेपाल सरकाले आगामी जेठको ६ र ७ गते काठमाडौंमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सम्बन्धी गोष्ठी गर्ने भएको हो। लुम्बिनीको अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्न गरिने यो कार्यक्रम लुम्बिनी क्षेत्रमा नै हुनुपर्ने माग स्थानीयले गरेका छन्।
सरकाले भने अन्तर्राष्ट्रिय उच्च पदस्थ व्यक्तिको सहभागितामा हुने यो कार्यक्रम पर्यटकीय पूर्वाधारको अभावमा दुई दिन काठमाडौंमा हुने जानकारी दिएको छ। बुद्ध जयन्तिको दिन जेठ ८ गतेको एक दिने कार्यक्रम भने लुम्बिनिमा नै गर्ने गरी तयारी भइरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए।
उनका अनुसार पर्यटकीय पूर्वाधारको अभाव र अन्तर्राष्ट्रिय उच्च पदस्थ व्यक्ति आउने भएकोले लुम्बिनीमा तीन दिन नै राख्न नसकिने भएकोले काठमाडौंमा नै कार्यक्रम गर्ने तय भएको हो।सरकारले एक करोड, लुम्बिनी विकास कोषबाट एक करोड र नेपाल पर्यटन बोर्डबाट दुई करोड रुपैयाँको बजेट यो सम्मेलनको लागि तय गरेको छ।
कार्यक्रममा १५ करोडभन्दा बढी खर्च हुने भएकोले नपुग रकम अन्तर्राष्ट्रिय दातृ निकाय तथा बौद्ध सम्बन्धी संघसंस्थाबाट जुटाउने भएको छ।'सम्मेलन आयोजना गर्न दुई सय जनासम्म अन्तर्राष्ट्रिय पाहुना आउने भएका छन', अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका कार्यक्रम निर्देशक बच्चुनारायण श्रेष्ठले भने।
यति धेरै पाहुनालाई जेठको मध्य गर्मीमा लुम्बिनीमा राख्न सक्ने पूर्वाधार नै नभएकोले पनि काठमाडौंमा नै राखेर कार्यक्रम गर्न लागिएको उनको भनाइ छ । एक दिन सबै पाहुना लुम्बिनी नै पुग्ने पनि उनको दाबी छ।
सम्मेलनमा सहभागीका लागि नेपाल सरकारले चिनियाँ तथा दक्षिण कोरियाका राष्ट्रपति, भारतीय तथा श्रीलंकन प्रधानमन्त्री, संयुक्त राष्ट्र संघका महासचिव, विभिन्न १३ वटा देशका संस्कृति मन्त्री, २३ वटा मुलुकको बुद्धिष्ट अर्गनाइजेनका प्रमखलाई निम्तो पठाएको लुम्बिनी विकास कोषले जानकारी दिएको छ।
अन्तर्राष्ट्रिय बुद्ध शान्ति पुरस्कार वितरण गरिने
लुम्बिनी विकास कोषले हरके पाँच वर्षमा प्रदान गर्ने अन्तर्राष्ट्रिय बुद्ध शान्ति पुरस्कार यो वर्ष वितरण गर्ने भएको छ। लुम्बिनीमा हुने विशेष कार्यक्रमबीच आगामी जेठ ८ गते यो पुरस्कार वितरण हुने भएको छ।
५० हजार अमेरिकी डलरको यो पुरस्कार अन्तर्राष्ट्रिय शान्ति क्षेत्रमा काम गरिरहेको दुई जनालाई प्रदान गरिने भएको छ। यस अघि २०६७ सालमा जापानीको हिरोसिमा र नागासाकीका दुई मेयरलाई प्रदान गरिएको थियो।
सरकारले सन् २००२ मा घोषणा गरेको यो पुरस्कारकाले लागि सरकारले नै हरेक वर्ष लुम्बिनी विकास कोषका नाममा १० लाख रुपैयाँ प्रदान गर्ने गरेको छ। कोषले यस अघि राखेको एक करोड रुपैयाँको अक्षयकोष यो पुरस्कार सञ्चालन गर्ने गरेको छ।
0 comments
प्रतिक्रिया दिनुहोस्...