टिमुरको व्यवसायीक खेती सुरु
जंगल, पाखापखेरामा पहिचान नभएर खेर गइरहेको टिमुरको महत्व र बजार बुझ्दै गएपछि बागलुङमा यसको व्यवसायीक खेती सुरु गरिएको छ।
वनजङगलमा प्रशस्त पाइने टिमुरलाई अहिले किसानहरुले व्यवसायीक रुपमै खेती गर्न लागेका हुन्। समुद्री सतहदेखि १ हजार देखि २५ मिटर उचाई भित्रमा फल्ने टिमुरको व्यवसायीक खेतीमा जिल्लाको पाण्डवखानी, दमेक, विनामारे, सुर्कवा पैयुँथन्थाप, सिसाखानी लगायत गाविसका किसानहरु आर्कषित भएका छन्।
'विभिन्न रोगको उपचारका साथै स्वास्थ्यका लागि फाइदाजनक हुने टिमुरबारे जानकारी नहुँदा यो त्यसै खेर गइरहेको थियो,' पाण्डवखानीका लक्ष्मीदेवी घर्तीले भनिन्, ‘अहिले यसको प्रयोग र माग बढ्न थालेपछि घरमा नै व्यवसायीक खेती गर्न थालेकी छु।’
स्थानीयले उत्पादन गरेको टिमुरको माग बढेपछि बागलुङ, पर्वत, पोखरा र अन्य बजारहरुमा लगेर किसानहरुले मानाको एक सय २० रुपैयाँसम्ममा बिक्री गरी आम्दानी गर्न सफल भएका छन्।टिमुर बिक्रीबाट पचास हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको सर्कुवाका किसान हरि प्रसाद शर्माले बताए।
पशु चौपायालाई पनि औषधीको रुपमा खुवाउने गरिएको टिमुरको व्यवसायीक खेती गर्न किसानलाई जिल्ला वन कार्यालयले सहयोग गर्दै आएको छ। लक्षित क्षेत्रमा पुग्न सकेमा आर्थिकोपार्जनमा थप टेवा पुग्ने किसानहरु बताउँछन्। किसानहरुले अहिले आफैँ नर्सरी बनाई टिमुरका बिरुवा समेत बिक्री गर्न थालेका छन्।
0 comments
प्रतिक्रिया दिनुहोस्...