-->
अदालतको सुरक्षार्थ खटिएका प्रहरी मृत भेटिए

अछामः जिल्ला अदालत अछामको सुरक्षार्थ खटिएका प्रहरी जवान भोजबहादुर पाल मृत अवस्थामा फेला परेका छन् । 
 
बुधबार राति आफ्नो नियमित ड्यूटी सकेर सुतेका पाल बिहीबार बिहान सुतेकै अवस्थामा मृत भेटिएको उनीसँगै रहेका प्रहरी हवल्दार टीकाराम खड्काले अन्नपूर्णलाई जानकारी दिए । 
 
उनी अदालतले सुरक्षाकर्मीलाई सुत्नका लागि दिएको क्वाटरमा थिए । राति ड्यूटीको समयमा पेट दुखेको भन्दै उनी ओछ्यानतर्फ लागेको खड्काले बताएका छन् । 
 
बिहान अबेरसम्म सुतिरहेको पाललाई अदालत परिसरको होटलका सञ्चालकले चिया लिएर जाँदा नउठेपछि उनलाई बोलाउँदा उनी मृत भएको पत्ता लागेको थियो ।
 
शरीरमा एलर्जी आएकाले दिउँसो एलर्जीको औषधि ल्याएका उनले राति सोही औषधि खाएर सुतेका थिए । 
 
उनको मृत्युको कारण खुल्न नसकेको र अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी निरञ्जन भट्टले बताए । 
 
अदालतको सुरक्षाका लागि चार जना प्रहरी ड्यूटीमा बस्ने गरेका छन् । उनीहरु पालो बाँधेर ड्यूटी गर्नुका साथै आफ्नो काम सकिएपछि सुत्न जाने गर्दथे । 
डडेलधुराको देवल दिव्यपुर ४ का स्थानीयबासी पालले १० वर्ष अघि नेपाल प्रहरीको जागिरमा प्रवेश गरेका थिए । 
 
उनको शवलाई पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल अछाममा पुर्याईएको छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.