धुन्चे, असार १ । सुक्खा बन्दरदगाह बनाउन पहिलो चरणको गृहकार्य तीव्र गतिमा अगाडि बढेको छ ।
रसुवाका सहायक प्रजिअ दीपक केसीका अनुसार सुख्खा बन्दरगाह बनाउन टिमुरे गाविस इलाकाको जग्गा अधिकरण गर्ने कार्य सम्पन्न भई मुआब्जा वितरणको तयारी भइरहेको छ । करिब ५९ रोपनी जमिनको मुआब्जा स्थानीय बासिन्दाले प्राप्त गर्नेछन् ।
जग्गा प्राप्ति ऐनअन्तर्गत सडकले छोएका जग्गाको रु ६ लाख र नछोएका भित्री जग्गाको रु ४ लाख प्रतिआना मुआब्जा निर्धारण गर्ने कार्य सम्पन्न भई वितरण गर्नुपर्ने रु ४८ करोड रकम निकासाका लागि अर्थ मन्त्रालयमा सिफारिस भइसकेको बताइएको छ ।
मुआब्जा पाउनुपर्नेमा ५२ स्थानीयवासी लगायत छन् । टिमुरे क्षेत्रको तल्लो तटीय प्रहरी जाँचचौकीको सेरोफेरोदेखि लाङटाङ राष्ट्रिय निकुञ्जसम्म भोटेकोसी नदी आसपास क्षेत्रमा सडकभन्दा पश्चिम भागमा सुख्खा बन्दरगाह बन्ने बताइएको छ ।
यस्तै ६८ करोडको लागतमा निर्माण हुने रसुवागढी एकीकृत भवनको बोलपत्र प्रक्रिया अन्तिम चरणमा पुगेको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत केदार पनेरुका अनुसार एकीकृत भवनमा भन्सार, अध्यागमन, क्वारेनटाइन कार्यालय, बैंक र सुरक्षा समेतका निकाय रहनेछन् । (रासस)
0 comments
प्रतिक्रिया दिनुहोस्...