-->
बग्गीमा चढेर राजदूतहरु पुगे राष्ट्रपति भवन

इमिरेट्स (युएई) का पहिलो आवासिय राजदूत सैइद हमदान मोहम्मद अल नग्बी हेर्दा नर्भस जस्तो देखिए पनि हास्दै बग्गीमा बसे । सायद उनको जीवनमा नै पहिलो फरक अनुभुति गर्न पाएको हुनाले उनी दंग त थिए नै तर त्यो भन्दा बढी त्यहाँ देखिएको तामझामले अलिक नर्भस देखिन्थे । उनी मन्द मुस्कराउँदै भनिरहेका थिए, 'हामीलाई दिएको यो सम्मान अविस्मरणीय छ । खुशी छु । यस्तो सम्मानले सम्वन्ध विस्तारमा हामीलाई नेपालले ऋणी बनाएको छ ।'
उनको यो भनाईले दुईपक्षीय सम्वन्धमा सकारात्मक प्रभाव राख्ने निश्चित छ । सरकारले नेपाली पन झल्काउने र राजदूतलाई उच्च सम्मान दिन यस्तो तयारी गरेको हो । १५ बर्ष पछि पुनः पुरानै परम्परामा फर्किदै नयाँ अनुभूति दिन थालिएको हो । अलिक खर्चिलो भए पनि यसले मुलुकको साखलाई उचो राख्ने र यहाँको संस्कृतीलाई विस्तार गर्दै विश्वमा प्रचारको लागि सहज हुने धारणा परराष्ट्र अधिकारीको छ ।
युएईले तीन साता अघिमात्र नेपालमा दूतावास स्थापना गरेर नयाँ राजदूत पठाएको हो । पुरानो संस्कृती रहेकेा मुलुकहरुमा यो प्रकारको प्रचलन अझै छ । तर नेपालले भने यसलाई लत्याएको थियो । राजा महेन्द्रको पालामा आरम्भ भएको राजदूतको ओहोदाको प्रमाणपत्र बुझ्ने कार्य विभिन्न चरणमा परिमार्जन हुदै पछिल्लो समय निकै साधारण र सामान्य बनेको थियो । अलिकति ब्यवस्थित र समय सापेक्ष बनाउने क्रममा पुरानै प्रचलनलाई उपयुक्त ठहर गरिएको हो ।
युएईका राजदुतको नेपाल प्रतिको धारणामा थप परिवर्तनको भाव मुहारमा प्रष्ट झल्किन्थ्यो । उनीमात्र होइन लाजिम्पाट स्थित सांगि्रला होटलमा जम्मा भएका अन्य चार गैर आवासिय राजदूतलाई परराष्ट्रमन्त्रालयले त्यहाँबाट शितल निवास पुर्याउन बग्गीको ब्यवस्था गरेको थियो । बेहुला लैजानको लागि सिंगारिए झै झकिझकाउ बग्गिमा राखेर राजदूतलाई होटलबाट राष्ट्रपति भवनसम्म लगिएको थियो । वग्गिको दायाँ बाँया दुई/ दुई घोडाको सवार थियो । अगाडि मोटरबाकइक कार्गेड थियो । पछाडि राजदूतको लागि कार, त्यसपछि आकस्मिकको लागि भन्दै परराष्ट्रमन्त्रालयको कारको लस्कर देख्दै भब्य थियो । जुन हेर्न सडकमा हिडिरहेका बटुवा देखि गाडीमा सवारहरु पनि त्यसप्रति आखाँ लगाएका थिए । घरघरबाट मासिहरु निस्किएर हेर्दै थिए ।
किर्गिजकी राजदूत सार्मगिऔल आदमकुलोभाले आफ्नो श्रीमान र छोरी सहित बग्गिमा बसेर गएकी थिइन । जसले गर्दा उनले झन फरक अनुभूति गरिरहेकी थिइन । उनको विवाह भन्दा पनि यो दृष्य भब्य रहेको प्रष्टिकरण दिदै थिइन । अन्य मुलुकमा चेक रिपब्लिकका मिलान हेवोर्का, साइप्रसका डेमेटि्रअस ए. थियोकिफाइलाक्टौ र अल्जेरियाका हाम्जा याइया चेरिफको उपस्थिती थियो । उनीहरु सबै यो प्रक्रियामा दंग थिए । राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार रहेका पूर्व परराष्ट्रसचिव डा. मदनकुमार भट्टराईले भने,'सबै राजदूतहरु निकै खुशी देखिनु भएको थियो भने निकै फरक अनुभूति गरेको सुनाई रहनु भएको थियो । यो हाम्रो प्रयास राम्रो छ । यसलाई थप सुधार गर्दै लैजाने छौ । निकै पछि यस्तो अभ्यास आरम्भ भएको हो ।' उनीहरुले ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, परराष्ट्रसचिव शंकरदास बैरागी, प्रधानसेनापति राजेन्द्र क्षत्री अन्य उच्चअधिकारीहरुको उपस्थिती रहेकेा थियो । प्रमाणपत्र बुझाएपछि राष्ट्रपतिसंग उनीहरुले २० मिनेट चिया गफ समेत गर्ने अवसर पाएका थिए ।
सडकभरी पहरी र ट्राफिक प्रहरीको उपस्थिती थियो । सडकको अर्को पटि्ट नियमित सवारीहरु चलिरहेका थिए । नेपालले विगत १५ बर्ष देखि विराएको यो बाटोलाई पुन ट्रयाकमा ल्याउने काम मात्र गरेन राजदूतहरुलाई विशेष सम्मान गरेर सकारात्मक सन्देश समेत दिएको छ । राजदूत राष्ट्र प्रमुखको नै प्रतिनिधी हुने र त्यो मुलुकमा उसले गर्ने ब्यवहारले राज्यको ब्यवहार झल्कने हुनाले उसलाई दिने सम्मानमा कुनै कमी नराख्न यस्तो गरिएको परराष्ट्र अधिकारीले बताए । बेलायत, जापान, फ्रान्स, इटाली, थाइल्याण्ड लगायत मुलुकमा पनि राजदूतलाई सम्मानको साथै सास्कृतिक महत्व झल्कने गरि ओहोदाको प्रमाणपत्र दिने गरिन्छ । ति भध्ये कतिपयमा बग्गिमा जाने वा अन्य कुनै तवरबाट भन्ने विकल्पम समेत दिने गरिन्छ ।
राजदरबार हत्याकाण्डपछि यसरी बग्गीमा राखेर ओहोदाको प्रमाणपत्र बुझ्ने र बुझाउने काम बन्द भएको थियो । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले आहोदाको प्रमणपत्र बुझ्ने कार्य साह्रै सामान्य भयो यसलाई विशेष बनाउन प्रस्ताव राखेकोमा राष्ट्रपति कार्यालय पनि सकारात्मक बनेपछि अहिले अलिक फरक बनको हो । राजा महेन्द्रको समयमा गद्दी बैठक बसन्तपुर दरबारमा बुझाउने ओहोदाको प्रमाणपत्र निकै चर्चित र फरक थियो । त्यही रवाफ नेपालकेा देखेर बेलायती महारानीको नेपाल भ्रमणमा समेत उत्साह मिलेकेा पुराना अनुभवि कूटनीतिज्ञहरु बताउछन । गद्दिबैठक पछि नारायण हिटी दरबारमा ओहोदाको प्रमाणपत्र बुझ्ने काम भयो । त्यहा भने सडक ट्राफिकलाई ख्याल गरेर होटल अन्नपूर्णबाट दरबारसम्म बग्गिमा राखेर लगिन्थ्यो । राजदरबार हत्याकाण्ड पछि त्यसलाई सामान्य करण गर्दै परराष्ट्रमन्त्रालयबाट सिधै गाडीमा लैजाने चलन चल्यो । त्यसपछि गिरिजाप्रसाद कोइराला कार्यवाहक राष्ट्रप्रमुख रहदा सिंहदरबार भित्रको बेलायती बैठक हलमा नै ओहोदाको प्रमाणपत्र बुझे । राजाको समयमा ओहोदाको प्रमाणपत्र बुझाए पछि राजाले एक रुमाल राजदूतलाई दिदै त्यसमा विशेष अत्तर र पान दिने चलन थियो । पछि पानको कटौति गरियो र अत्तरमात्र दिने काम भयो । अहिले त्यो पनि बन्द भएकोछ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.