काठमाडौं, ३० जेठ । अमेरिकाको फ्लोरीडा राज्यको ओर्ल्याण्डो शहरस्थित एक रात्रीक्लबमा आईतबार बिहानीपख एक हमलाकारीले गोली चलाउँदा करीब २० जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार एक राइफल र ह्यान्डगन बोकेका बन्दूकधारीले केही बन्धक बनाएका थिए । पछि प्रहरीसंग गोली हानाहान हुँदा बन्दूकधारी मारिएको बताइएको छ ।
फ्लोरीडाका अधिकारीहरुले सो घटनालाई आतंकवादी क्रियाकलापको रुपमा अनुसन्धान गरिंदै गरेको बताएका छन् ।
सो गोलीबारीमा घाईते भएका ४० भन्दा धेरैलाई अस्पताल पुर्याइएको छ ।
एक्लै रहेको बताइएको आरोपित बन्दूकधारी स्थानीय क्षेत्रका नभएको प्रहरीको भनाई छ ।
सो पल्स नामक रात्रीक्लब समलिंगीहरुको क्लब भएको बताइन्छ । घटनाका बेला त्यहाँ एक सयभन्दा धेरै जना रहेको बताइएको छ ।
मास शुटिंग ट्र्याकर नामक एक संस्थाका अनुसार सन् २०१५ मा मात्रै अमेरिका भर मास शुटिंग अर्थात आम गोलीबारीका करीब ३२७ घटना भएका थिए । जसमा परी ४७५ जना मारिएका तथा १८७० जना घाईते भएका बताइएको छ ।
एकै घटनामा चारजनाभन्दा धेरै मारिएका वा घाईते भएका घटनालाई आम गोलीबारीको घटना मानिने गरिन्छ । (बीबीसीको सहयोगमा)
0 comments
प्रतिक्रिया दिनुहोस्...