‘यो सरकार सतीसाल हो, सानोतिनो हुरीले ढल्दैन’
कुश्माः उद्योग मन्त्री सोमप्रसाद पाण्डेले राष्ट्रिय सहमति नबन्दासम्म अहिलेकै सरकार टिकिरहने दावी गरेका छन् ।
पर्वतको फलेवासमा रहेको जिल्लाकै पहिलो पर्वत बहुमुखी क्याम्पसको रजत महोत्सवको उद्घाटन गर्दै मन्त्री पाण्डेले संक्रमण अवस्थामा बनेको सरकारलाई दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने प्रावधान रहेको भन्दै राष्ट्रिय सहमति बनेमा मात्र परिवर्तन हुने बताए ।
मन्त्री पाण्डेले सरकार परिवर्तनबारे माओवादीसँग कुनै ठोस सम्झौता नभएको दावी गर्दै माओवादीले पनि राष्ट्रिय सहमति नबनेसम्म अहिलेकै सरकारलाई निरन्तरता दिने बताएकाले यो सरकार तत्काल ढल्ने सम्भावना नरहेको जिकिर गरे ।
‘विषम परिस्थितिमा बनेको अहिलेको सरकार साना तिना हाबा हुण्डरी चल्दैमा ढल्नेवाला छैन । यो सरकार सत्तीसाल जस्तै हो’, उनले भने, ‘सरकार फेरेर मात्र मुलुकको विकास हुन सक्दैन । संविधानको सफल कार्यान्वयन र अहिलेको सरकारले ल्याएको नीति तथा बजेटको पुर्णरुपमा लागू हुन सके नेपालीले छोटो समयमै ठूलो राहात महसुस गर्नेछन् ।’
उनले औद्योगीकिकरणको विकासबिना मुलुकको आर्थिक विकास असम्भव हुने बताएका छन् । जबसम्म मुलुकभित्र सम्भावना रहेका वस्तु तथा सेवाहरुलाई उद्योगकारुपमा विकास गर्न सकिदैँन तबसम्म मुलुक आर्थिक हिसावमा अगाडि बढ्न नसक्ने बताए ।
नेपाललाई आर्थिक समृद्धिको उचाईमा पु¥याउनका लागि नेपालमा सम्भावना भएका उद्योगहरुको विकास र खानीहरु संचालन गर्नुपर्ने उनले बताए ।
नेपालभित्रै पेट्रोल, कोइला, फलाम, सुन लगायतका खानीहरु पुँजी र प्रविधिको अभावमा उत्खनन् हुन नसकिरहेको बताउँदै मन्त्री पाण्डेले सवै श्रोतहरुको उचित रुपमा प्रयोग गर्न सकेमा एकाध वर्षमै मुलुकले कोल्टे फेर्ने बताए । उनले सरकारी तथा निजी लगानीमार्फत उद्योग र उत्पादनशिलतामा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
मन्त्री पाण्डेले गत वर्षको बिनासकारी भुकम्प र भारतले गरेको नाकावन्दीका कारण औद्योगिक क्षेत्र चौपट बनेको बताउँदै औद्योगिक क्षेत्रको पुनर्निर्माण र विकासलाई आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमले विशेष प्राथमिकता दिएको पनि बताए ।
0 comments
प्रतिक्रिया दिनुहोस्...