-->
अष्ट्रेलियाका नेपालीमा बढ्दो घरेलु हिंसा

जेष्ठ २१, २०७३- दुई महिनाअघि अष्ट्रेलियाका नेपालीहरुमा गरिएको सर्वेक्षणमा करिब २५ प्रतिशत नेपालीहरु घरेलु हिंसाको चपेटामा रहेको तथ्य सार्वजनिक गरिएको छ । तथ्य र आंकडा सहित सार्वजनिक गरिएको रिर्पाेट अनुसार घरेलु हिंसाको मारमा पर्ने महिलाहरु मात्र नभएर पुरुषको संख्या समेत उल्लेख्य रहेको छ । 

पछिल्लो समयमा अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुमा घरेलु हिंसा बढिरहेको प्रसंगमा यहाँ रहेका सातैवटा राज्यहरुमा रहेका नेपालीहरुलाई समेटेर एक कार्यदल बनाएर सर्भेक्षण गरिएको थियो । बिभिन्न राज्यहरुबाट संकलन गरिएको सर्वेक्षणको नतिजालाई आधार मानेर उक्त रिर्पोट तयार पारिएको हो । मानसिक, सामाजिक, शारीरिक, यौन र आर्थिक हिंसालाई आधार मानेर संकलन गरिएको सर्वेक्षण रिर्पाेटमा महिलाहरुले करिब २५ प्रतिशत हिंसा ब्योहोरिरहेका छन भने पुरुषहरुले करिब १८ प्रतिशत हिंसा ब्योहोरिरहेका छन् । घरेलु हिंसा ब्योहोरिरहेका ६७ प्रतिशत महिलाहरु जोखिममा रहेका छन भने पुरुषहरुको संख्या ३३ प्रतिशत रहेको बताइएको छ ।

अष्ट्रेलियाको सिड्नी, मेलबर्न, बि्रसबन, पर्थ, एडिलेड, क्यानबेरा लगायतका शहरमा बसोबास गरिरहेका नेपालीहरुलाई सर्वेक्षणमा समावेश गरिएको थियो । एनआरएनले सामाजिक सरोकार अन्तरगत शुरु गरेको अष्ट्रेलियाका नेपाली समुदायमा घरेलु हिंसा कम गर्नका लागि आयोजित अभियान अन्तरगत यो सर्वेक्षण गरिएको थियो । रिर्पोटलाई सार्वजनिक गर्ने क्रममा कार्यक्रमकी संयोजक जानकी पौडेलले नेपाली समुदायमा घरेलु हिंसा डरलाग्दो रुपमा बढ्दै गएको र यसलाई नियन्त्रण गर्न आवश्यक भइसकेको बताएकी थिईन् । 

जम्मा २ सय ४१ जना नेपालीले सहभागिता जनाएको सर्वेक्षणमा २८ प्रतिशत महिलाले मानसिक यातना भोगेको रिर्पोट सार्वजनिक गरिएको छ भने सामाजिक, शारीरिक, आर्थिक र यौन बिषयमा क्रमश १९, १४, १७ र ७ प्रतिशत महिलाहरुले घरेलु हिंसा भोगेको देखाइएको छ । त्यसैगरि पुरुषहरुले सबैभन्दा धेरै आर्थिक हिंसा भोगेको देखाइएको छ । सहभागीहरुमध्ये २२ प्रतिशतले आर्थिक हिंसा भोगेका छन भने सामाजिक, मानसिक, यौन र शारिरिक शिर्षक अन्तरगत क्रमशः १५, २०, ६ र १३ प्रतिशतले घरेलु हिंसा भोगेको तथ्य सार्वजनिक गरिएको छ । 

'सर्वेक्षणलाई बस्तुपरक र यर्थाथ बनाउनका लागि प्रश्नहरु समेत हामीले त्यस्तै बनाएको थियौं, कार्यक्रमलाई बिज्ञको रुपमा पर्यवेक्षणमा सघाइरहेका डा. जगदीश तिम्सिनाले कान्तिपुरसँग भने - अहिले हामीले दिएको रिर्पोटलाई मध्यनजर गरेर यसलाई रोकथामका लागि लागिएन भने यो अवस्था अझ भयावह हुनसक्छ ।' अष्ट्रेलिया सरकारको सन २०१२ को तथ्यांक अनुसार पनि ३३ प्रतिशत महिलाहरु घरेलु हिंसाको चपेटामा छन् । सर्वेक्षणमा यहाँ बसोबास गरिरहेका सानो संख्यामा नेपालीहरु समेटिएको भएपनि यो रिर्पाेटले ऐनाको रुपमा काम गर्ने पर्यवेक्षक डा. तिम्सिनाको विश्वास छ ।

कार्यदलले रिर्पोट सार्वजनिकसँगै यसलाई न्युनिकरण गर्नका लागि सुझाव समेत सम्बन्धित क्षेत्रलाई दिएको छ भने पीडितहरुलाई काउन्सिलिङ र आवश्यक अनुसार यहाँको सरकारी निकायहरुसम्म पहुँच समेत बनाइदिने गरेको छ । 'हामीले अहिले गर्नसक्ने भनेको सम्पर्कमा आउनुभएका पीडितहरुलाई सम्बन्धित निकायसम्म पुरयाइदिने र सकेको काउन्सिलिङ लगायतका सहयोग गर्ने हो ।' संयोजक पौडेलले भनिन- यसका लागि एनआरएन लगायतका सामाजिक संस्थाले जनचेतना जगाउने र सुचना प्रवाह गर्ने काम गर्नुपर्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.