-->
‘हामी कहिलेसम्म किचेन बम बालेर भात पकाउने?’

‘ग्यास उद्योगीले सिलिन्डरको गुणस्तरसम्बन्धी मापदण्ड पूरा गरेका छैनन्। सिलिन्डरको मोटाइ जति हुनुपर्छ, त्यसको आधाभन्दा कम फेला पर्दा पनि सरकार कारबाही गर्नबाट चुकेको छ। यहाँ घर–घरका भान्सामा किचेन–बम जोडिएका छन्। हामी किचेन–बम बालेर भात पकाइरहेका छौं, जुनसुकै बेला जे पनि हुनसक्छ। आज मंगलबजारमा भएको घटना भोलि हामीमध्ये जसलाई पनि पर्न सक्छ।’

  • ग्यास सिलिन्डर पड्केर तीन जनाको ज्यान गएपछि उद्योगलाई कारबाही माग गर्दै प्रदर्शन

  • जनचेतनाको कमीले दुर्घटना बढेको उद्योगीको भनाइ

 
 
ललितपुर, मंगलबजारका स्थानीयले आइतबार दिउँसो पाटन अस्पतालबाहिर केही बेर सडक जाम गरे। त्यहाँबाट मंगलबजारसम्म प्रदर्शनी पनि गरे। उनीहरूको माग एलपी ग्यास प्रयोग गर्ने लाखौं उपभोक्ताको सुरक्षासँग सम्बन्धित थियो। 
 
ग्यास उद्योगको लापरबाहीले सिलिन्डर विस्फोटका घटना बढ्दै गएको र उपभोक्ताको ज्यान जोखिममा परेको कुरा उनीहरूले उठाएका थिए। सिलिन्डरको मोटाइ जति हुनुपर्छ, त्यसको आधाभन्दा कम फेला पर्दा पनि सरकारी निकाय उदासीन रहेकोमा उनीहरू आक्रोशित थिए।
 
‘ग्यास उद्योगीले सिलिन्डरको गुणस्तरसम्बन्धी मापदण्ड पूरा गरेका छैनन्। सरकार पनि कारबाही गर्नबाट चुकेको छ,’ विरोध प्रदर्शनमा सहभागी स्थानीय राजु ताम्राकारले सेतोपाटीसँग भने, ‘यहाँ घर–घरका भान्सामा किचेन–बम जोडिएका छन्। हामी किचेन–बम बालेर भात पकाइरहेका छौं, जुनसुकै बेला जे पनि हुनसक्छ। आज मंगलबजारमा भएको घटना भोलि हामीमध्ये जसलाई पनि पर्न सक्छ।’
 
उनी कुरा गर्दै थिए, जेठ ७ को घटनाको, जसमा ग्यास सिलिन्डर पड्केर तीन जनाको ज्यान गएको थियो।
 
त्यस दिन दिउँसो १२ बजेर २७ मिनेट जाँदा मंगलबजारका कृष्णगोविन्द ताम्राकारको घरमा ‘एचपी’ कम्पनीको ग्यास सिलिन्डर विस्फोट भयो। दुर्घटनामा परेका पाँच जना घाइतेलाई स्थानीयले तुरुन्तै पाटन अस्पताल लगे। एक घन्टामै ध्रुव ताम्राकारको निधन भयो। सुरेश, कविना र राजेश ताम्राकारलाई कीर्तिपुर मोडल अस्पताल ‘रेफर’ गरियो। सामान्य घाइते भएका कृष्णगोविन्द उपचारपछि उही दिन घर फर्के।
 
उता, त्यही दिन बेलुकी साढे ५ बजे कीर्तिपुर अस्पतालमा उपचार गर्दागर्दै सुरेशको मृत्यु भयो। त्यसको १० दिनपछि कविना घर फर्किन्। तर, २२ दिनपछि अर्थात् जेठ २९ गते शनिबार राजेश ताम्राकारको पनि उपचार क्रममै कीर्तिपुर अस्पतालमा निधन भयो। 
 
‘यो एउटा परिवारको मात्र कुरा होइन, हामी सबै उपभोक्ताको सरोकारको विषय हो,’ ताम्राकार परिवारको उपचारमा समेत सहयोग गर्दै आएका राजुले भने, ‘हामीले सरकारसँग ठूलो कुरा केही मागेका छैनौं, दोषीलाई कारबाही गर, सुरक्षित ग्यास सिलिन्डरको प्रत्याभूति गर, त्यत्ति हो।’
 
आइतबार सडक प्रदर्शनमा ओर्लिएका स्थानीयले घटना हुनासाथ मंगलबजार प्रहरी वृत्त र जावलाखेल प्रहरी कार्यालयमा जाहेरीसमेत दिएका थिए। लगत्तै एचपी ग्यास उद्योग, सिलिन्डर उत्पादक संघ, गुणस्तर तथा नापतौल विभागका प्रतिनिधि र स्थानीय सभासदले सहयोगको बचन दिएका थिए। यो मुद्दामा गम्भीर छानबिन गर्ने उनीहरूको प्रतिबद्धता थियो। यसबीच ग्यास उद्योगले पीडित परिवारलाई एक लाख रुपैयाँ त दियो, तर कानुनी कारबाही र गुणस्तर नियन्त्रणका मुद्दामा भने आँखा चिम्लेको स्थानीयको गुनासो छ। 
 
गुणस्तर विभागको अनुसन्धानबाट ग्यास सिलिन्डरको मोटाइ तोकिएको मापदण्डभन्दा कम रहेको पुष्टि भइसकेको छ। सिलिन्डरको मोटाइ २.९ एमएम हुनपर्नेमा आधाभन्दा कम रहेको विभागका एक अधिकारीले बताए। 
 
‘जबसम्म यस्तो जोखिमपूर्ण अवस्थाका सिलिन्डर बजारमा बिक्री भइरहन्छन्, कोही उपभोक्ता सुरक्षित रहने छैनन्,’ राजुले भने, ‘हामी कसरी ढुक्क भएर भान्सामा ग्यास बाल्न सक्छौं, सरकारले किचेन–बमको यो आतंक जतिसक्दो छिटो अन्त्य गरोस् भन्ने हाम्रो माग हो।’ यसका लागि सरकारी निकाय तथा उद्योगी पूर्ण जिम्मेवार र जवाफदेही हुनुपर्ने उनले बताए। 
 
स्थनीनयले आइतबारको प्रदर्शनमा एचपी ग्यास उद्योगलाई कारबाही र पीडितलाई उचित क्षतिपूर्तिको समेत माग राखेका छन्।
 
 
असुरक्षित सिलिन्डरको बिगबिगी
 
मंगलबारको दुर्घटनाले बजारमा असुरक्षित ग्यास सिलिन्डरको बिगबिगी छर्लंग पारेको छ। यसले सिलिन्डर विस्फोटनबाट हुनसक्ने दुर्घटनाको जोखिम बढाइदिएको छ।
 
भारतको नाकाबन्दीलगत्तै ग्यास उद्योगहरूले बजार अभावको मौका छोपेर आयल निगमको स्वीकृतिबिनै आफूखुसी सिलिन्डर थपेका थिए। गुणस्तर प्रमाणीकरणसमेत नगरिएका ती सिलिन्डर बिक्री भइरहेकै छन्। निगम स्रोतका अनुसार बजारमा ६ लाखभन्दा बढी अवैधानिक सिलिन्डर छन्। त्यस्ता सिलिन्डरको गुणस्तर परीक्षण गरिएको छैन। ती सबै सुरक्षा हिसाबले जोखिमपूर्ण हुन्।
 
नाकाबन्दीकै क्रममा आपूर्तिमन्त्री गणेशमान पुनले ग्यास उद्योग अनुगमन गर्दै ‘उद्योगीहरूले सावधानी नअपनाएको र उपभोक्ताको भान्सामा बम फिट गरेको’ टिप्पणी गरेका थिए। त्यही बेला सिद्धार्थ ग्यास उद्योगमा सिलबन्दीसमेत गरिएको थियो। 
 
सर्वसाधारणको जीउज्यानसँग प्रत्यक्ष जोडिएको यति ठूलो अनियमितताको खुलासा भइसक्दा पनि निगम कारबाहीमा गम्भीर देखिँदैन। निगमले आजसम्म बजारमा छरिएका ती अवैधानिक सिलिन्डर खोज्ने र जफत गर्ने पहलसम्म गरेको छैन। यही लापरबाहीबाट फाइदा उठाउँदै ग्यास उद्योगीहरूले पुराना सिलिन्डरमा रङरोगन गरेर बजार पठाउने क्रम जारी राखेका छन्। 
 
निगमले २०७१ फागुनदेखि नयाँ सिलिन्डर प्रमाणीकरण गरेको छैन। यस्तो प्रमाणीकरण प्रत्येक छ–छ महिनामा गर्नुपर्छ। आन्तरिक प्राविधिक समस्या, भुइँचालो र नाकाबन्दीले समयमै हुन नसकेको निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए। आगामी आर्थिक वर्षदेखि प्रमाणीकरण थाल्ने उनको दाबी छ।
 
एलपी ग्यास उद्योगी संघका अध्यक्ष शिव घिमिरे भने उपभोक्तामा ग्यास प्रयोगसम्बन्धी चेतनाको कमीले यस्तो दुर्घटना भएको बताउँछन्।
 
‘सरकारले चेतनामूलक कार्यक्रम गर्ने भनेर २०६८ सालमै हामीसँग सम्झौता गरेको थियो, जुन आजसम्म कार्यान्वयन भएको छैन,’ उनले भने, ‘जनचेतनाका लागि लाग्ने २५ प्रतिशत खर्च हामीले बेहोर्ने भन्दा पनि सरकार अघि बढेन। यसले धेरैलाई सुरक्षित रूपमा ग्यास कसरी प्रयोग गर्ने भन्ने नै थाहा छैन।’ 
 
ग्यास सिलिन्डरमा मोटाइ कम हुनु स्वाभाविक भएकाले त्यही आधारमा उद्योगीको लापरबाही भन्न नमिल्ने उनको तर्क छ।
 
 
सिलिन्डरको म्याद कसरी थाहा पाउने?
 
ग्यास उद्योगीहरू लापरबाह भए पनि र निगम उदासीन रहे पनि उपभोक्ता आफैंले सिलिन्डरको म्याद गुज्रिएको वा नगुज्रिएको थाहा पाउन सक्छन्।
 
प्रत्येक सिलिन्डरको घाँटीमा तीनवटा लाम्चा पाता हुन्छन्। तीमध्ये एउटा पातामा भित्रपट्टि सिलिन्डरको म्याद जनाउने कोड लेखिएको हुन्छ। कोडकै आधारमा सर्वसाधारणले सिलिन्डरको म्याद पत्ता लगाउन सक्छन्। 
 
वाणिज्य विभागबाट पछिल्लो समय अनुगमनमा खटिएका गिरीराज भट्टराईका अनुसार सुरुमा ए, बी, सी र डीमध्ये एउटा अक्षर लेखिएको हुन्छ। त्यसपछि १६, १७, २०, २२, २५ आदि अंक लेखिएको हुन्छ।
 
उनका अनुसार, ए, बी, सी र डीले अंग्रेजीका तीन–तीन महिना जनाउँछ। ‘ए’ ले जनवरी, फेबु्रअरी र मार्च महिना जनाउँछ भने ‘बी’ ले अप्रिल, मे र जुन महिना जनाउँछ। त्यस्तै, ‘सी’ ले जुलाई, अगस्ट र सेप्टेम्बर तथा ‘डी’ ले अक्टोबर, नोभेम्बर र डिसेम्बर महिना जनाउँछ।
 
अंग्रेजी अक्षरपछि लेखिएको अंकले मिति जनाउँछ। जस्तै– २० अंक लेखिएको भए त्यसको म्याद २०२० सम्म हो भन्ने बुझ्नुपर्छ। यसको मतलब ‘बी २०’ लेखिएको सिलिन्डरको म्याद सन् २०२० जुन महिनासम्म हुन्छ।
 
‘अहिले प्रयोगमा रहेका सिलिन्डर १६ अंकभन्दा मुनिको हुनु हुँदैन,’ भट्टराईले सेतोपाटीसँग भने, ‘अहिलेको मितिलाई बी १६ ले जनाउँछ। सिलिन्डरमा अन्तिम मिति लेखिने भएकाले बजारमा २६ अंकसम्मका पाइन्छन्।’
 
एउटा सिलिन्डरको म्याद १० वर्षसम्म हुन्छ। १० वर्षपछि ‘हाइड्रोलिक’ परीक्षण गर्नुपर्छ। त्यसपछि पाँच वर्ष म्याद थप्न सकिन्छ। हाइड्रोलिक परीक्षण गर्दा सिलिन्डर नचुहिने रहेछ भने मात्र त्यसलाई पाँच वर्ष पुनः प्रयोग गर्ने अनुमति दिइन्छ। परीक्षण फेल भएका सिलिन्डर कबाडीमा जान्छन्। ग्यास उद्योगहरूले भने हाइड्रोलिक परीक्षणको मापदण्ड अवलम्बन गरेका छैनन्। 
 
आयल निगमका प्रवक्ता तथा वितरण शाखा प्रमुख घिमिरेका अनुसार सिलिन्डरको म्याद सकिएपछि वा बीचमै चुहावट भए मर्मत तथा वेल्डिङ गरेर प्रयोग गर्न पाइँदैन। यसअघि आपूर्तिमन्त्री पुनको नेतृत्वमा धादिङका ग्यास उद्योगमा अनुगमन गर्दा हाइड्रोलिक परीक्षण नै नगरी सिलिन्डरमा रङरोगन मात्र गरेर ग्यास भर्ने गरेको पाइएको थियो।
 
सिलिन्डरको म्याद मात्र होइन, तौल पनि धेरैलाई थाहा नहुन सक्छ। विभिन्न कम्पनीका सिलिन्डरको तौल फरक हुन्छ। केही सिलिन्डरको तौल १४ र केहीको १५ केजीभन्दा बढी पाइएको छ। यो पनि सिलिन्डरमै प्रस्ट खुलाइएको हुन्छ। 
 
सिलिन्डरको घाँटीमा रहेका फलामका तीन पातामध्ये एउटामा वा घाँटीमुनि सुरुमा सिलिन्डरको तौल र त्यसमुनि ग्यासको तौल (१४.२ केजी) लेखिएको हुन्छ। सिलिन्डरको तौल जति भए पनि ग्यासको तौल १४.२ केजी हुनैपर्छ। यसरी भान्सामा प्रयोग हुने सिलिन्डरको म्याद बुझ्न सके र यसतर्फ चनाखो हुनसके सम्भावित जोखिमबाट बच्न सकिन्छ। 
 
उपभोक्ताले आफ्नो स्तरबाट अपनाउने सतर्कता त छँदैछ, तर ग्यास उद्योगीलाई उपभोक्ताको सुरक्षाप्रति संवेदनशील बनाउनुपर्नेमा कसैको दुईमत छैन। सबैले स्वीकारे पनि व्यवहारमा भने उद्योगको लापरबाही अनियन्त्रित बन्दै गएको उपभोक्ता गुनासो गर्छन्।
 
‘सरकारले जति छुट दियो, यिनीहरूको लापरबाही उति बढ्दै जान्छ, त्यही भएर पनि जनताको सुरक्षाका लागि हामी यसरी सडकमा ओर्लिएर दबाब दिनुपरेको हो,’ राजु ताम्राकारले भने।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.