देशमा हरियाली बढाउन सरकारले असार, साउन र भदौ महिनामा देशभर वृक्षारोपण गर्न स्थानीय निकायलाई निर्देशन दिएको छ । हरेक वर्ष खडेरीको समय बढ्दा पानीको मुहान सुक्न थालेपछि सरकारले नयाँ अभियान चलाउन लागेको हो ।
तीन महिने वृक्षारोपण अभियानमा स्थानीय तहमा रहेका सरकारी तथा गैरसरकारी संघ(संस्था, सामाजिक संस्था र शिक्षक तथा विद्यार्थीहरुलाई परिचालन गर्न निर्देशन दिएको हो । स्थानीय निकायलाई परिपत्र गर्दै स्थानीय विकास मन्त्रालयले कम्तिमा एक घरमा दुईवटा फलफूलका विरुवा रोप्न भनेको छ ।
यस्तै सडक किनाराको जमीन तथा सार्वजनिक खाली जमिनमा भूगोल सुहाउँदो जातका विरुवा लगाउन र नजिकको घरबाट ती विरुवाको संरक्षण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । यसैगरी पानीको मुहान आसपास छहारी हुने विरुवा लगाउन, संरक्षणमा ध्यान दिन परिपत्र गरेको छ ।
स्थानीय विकास मन्त्रालयबाट जारी भएको परिपत्रमा सबै सार्वजनिक विद्यालय परिसरमा वृक्षारोपण गर्न र चौतारा, पोखरी भएका ठाउँमा सम्भव भएसम्म बरपिपल रोप्न तथा पोखरीको समेत संरक्षण गर्न निर्देशन दिएको छ । यसरी रोप्न आवश्यक विरुवा जिल्ला वन कार्यालयले उपलब्ध गराउनेछ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...