-->
को हुन् नेपालको पहिलो नर्स ?

काठमाडौं– पहिलो नेपाली नर्स को हुन् ? यस प्रश्नको उत्तरमा कसैले लुना अमात्य भनेर जवाफ दिन्छन् भने कसैले उमादेवी दास भनेर । पहिलो नर्सको यही विवाद टुंग्याउने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ । स्वास्थ्य मन्त्रालयको नर्सिङ महाशाखाकी निर्देशक ईश्वरी श्रेष्ठले सरकारले अहिलेसम्म आधिकारिक रुपमा पहिलो नेपाली नर्स घोषणा नगरेकाले छिट्टै पहिलो नर्स घोषणा गर्ने तयारी गरेको बताइन् ।  ‘अब हामी छिट्टै पहिलो नर्स घोषणाको तयारीमा छौं’, श्रेष्ठले भनिन् । अहिलेसम्म लुना अमात्यलाई पनि पहिलो नर्स मान्ने गरिएको छ । तर, निर्देशक श्रेष्ठ भने अमात्यले दार्जिलिङमा हुर्किएर कलकत्ताबाट नर्सिङ सुरु गरेकी उनी नेपालको पहिलो नर्स हुन नसक्ने बताउँछिन । श्रेष्ठका अनुसार अमात्यका छोरा गायक योगेश्वर अमात्यले आमा लुना अमात्यलाई नेपालको पहिलो नर्स घोषणा गर्न स्वास्थ्य मन्त्रालयमा पटक–पटक निवेदन दिएका छन् । नेपाल सरकारले पहिलोपटक विसं २००९ मा उमादेवी दास र रुक्मणीचरण श्रेष्ठलाई नर्सिङ पढ्न पठाएको थियो । उनीहरु तीन वर्षको कोर्ष र एकवर्ष इन्टर्नशिप गरी फर्किएका थिए । ‘नेपाल फर्किएर नर्सिङ सेवा सुरु गरेको पहिलो नर्स नै उमादेवी दास हुनुहुन्छ’ श्रेष्ठले भनिन्, ‘हामीले विभिन्न अभिलेख तथा अन्य फाइल अध्ययन गर्दा लुना अमात्य भन्दा उमादेवी दास पहिलो नर्स हुनहुन्छ ।’ पहिलो नर्स घोषणको विषयको बैठकमा बोलाउँदा समेत नेपाल नर्सिङ काउन्सिल र नेपाल नर्सिङ एसोसिएसनले असहयोग गरेको श्रेष्ठको भनाई छ । ‘पहिलो नर्स घोषणा गर्ने काम त काउन्सिल र एसोसिएसनको हो, तर उनीहरु जोखिम लिन चाहिरहेका छैनन्’  श्रेष्ठले भनिन् । अभिलेखका अनुसार लुना अमात्यले भारतबाट आएर नेपालमा पहिलो नर्सिङ स्कूल स्थापना गरी प्रिन्सिपल बनेकी थिइन् । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.