-->
स्पेनको ह्याट्रिक अभियान सुरु

जेष्ठ ३२, २०७३- बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले अन्तिम समयमा हेडमा गोल गरेपछि स्पेनले सोमबार युरो २०१६ को समूह ‘डी’ को खेलमा चेक गणतन्त्रलाई १–० ले पराजित गरेको छ ।

सञ्चारमाध्यमले गोलरक्षक डेविड डी जियालाई यौनकाण्डमा मुछेपछि प्रतियोगिता अगाडि नै स्पेन विवादमा परेको थियो । तर प्रशिक्षक भिसेन्ट डेल बस्कले सदावहार गोलरक्षक इकर कासियासको स्थानमा म्यानचेस्टर युनाइटेडका तिनै डी जियालाई पहिलो रोजाइमा खेलाएर उनीप्रति विश्वास देखाएका थिए ।

२०१४ को विश्वकपमा पहिलो चरणबाटै बाहिरिएको पीडा भुलाउने क्रममा रहेको स्पेनले सोचे जस्तो सुरुआत गर्न सकेन । पावेल भर्वाको चेकबाट गोलरक्षक पिटर चेकले गहकिलो प्रदर्शन गरेपछि स्पेनले गोलका लागि लामो समय कुर्नु पर्यो । चेकको रक्षापंक्तिले जब्बर प्रदर्शन गरेपछि स्पेन निराश हुने स्थितिमा पुगेको थियो ।
 
खेल समाप्त हुन तीन मिनेट अगाडि एन्ड्रेज इनिस्टाको क्रसमा पिकेले नजिकको दूरीबाट हेड गोल गरी दुई पटकको डिफेन्डिङ च्याम्पियन स्पेनको इज्जत जोगाएका थिए ।

यसअघि अल्भारो मोराटा, जोर्डी अल्बा र डेविड सिल्भाको प्रहार गोल हुनसकेको थिएन । दोस्रो हाफमा चेक गणतन्त्र गोलको नजिक पुगेको थियो । तर थेओडोर गेब्रेको प्रहारलाई सेस फाब्रिगासले गोल लाइनबाट क्लियर गरेर स्पेनको संकट टारेका थिए । अन्तिम समयमा चेकको बराबरी गर्ने अवसरमा भ्लाडिमिर डारिडाको प्रहारलाई डी जियाले जोगाए ।

२००८ र २०१२ को युरो विजेता स्पेन एक साताअघि मैत्रीपूर्ण खेलमा विश्व फुटबल वरीयतामा १ सय ३७ औं स्थानमा रहेको जर्जियासँग पराजित भएको थियो । आक्रमणमा स्पेनको कमजोरी सोमबारको खेलमा पनि देखिएको थियो ।

७४ प्रतिशत बल नियन्त्रणमा राख्दै स्पेनले आफ्नो प्रभाव नदेखाएको भने होइन । चेक गणतन्त्रको १ सय ३६ पासको तुलनामा स्पेनले ३ सय ७८ पास खेलेको थियो ।

‘हामीले धेरै अवसर सिर्जना गर्यौं त्यसैले फिनिसिङ हाम्रो समस्या नहुनेमा आशावादी छौं,’ डेल बस्कले भने, ‘खेल पूर्णरूपमा हाम्रो नियन्त्रणमा थियो, जुन निकै महत्त्वपूर्ण विषय हो ।’
पछिल्ला ६ खेलमा चेक गणतन्त्रले एक खेलमात्र जित्न सकेको थियो, त्यसमा १४ गोल खर्चेको थियो । गोलरक्षक चेकले सानदार बचाउ गर्दै चेक गणतन्त्रको पराजय घटाउने काम गरे ।





0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.