विमानस्थलमा सबैलाई रुवाइन यी हजुरआमाले
काठमाडौं, असार ८ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगको नेपाल आर्मीको बाहिनीमा लस्करै राखिएका १२ वटा
शवको वाकसलाई क्रमश हेर्दै अघि बढेकी एक वृद्धा एउटा बाकसमा पुगेपछि बाकसलाई नै अँगालो हाल्दै डाँको छाडेर रुन थाल्नुभयो ।
‘मेरो बाबु अब म कसरी बाँँचु ? तिमीले किन हामीलाई छाडेर गएका ?’ बृद्धाले बाकसलाई अँगालो हालेर यत्ति भन्नसाथ सबैका आँखा रसाए ।
अफगानिस्तानको काबुलमा भएको बम विस्फोटमा परेर ज्यान गुमाएकाको शव बुझ्न गएका मृतकका आफन्त र परिवार पहिला नै शोकमा थिए । तर ती वृद्धाको रुवाइले सबैको आँखाबाट थप आँसु झर्यो । यसरी सबैलाई रुवाउने उहाँ हुनुहुन्थ्यो पर्वतकी ७५ वर्षकी चन्द्राकुमारी सुवेदी ।
उहाँ अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम विस्फोटमा परेर ज्यान गुमाएका आफ्ना छोरा विदुरबहादुर सुवेदीको शव बुझ्न काठमाडौं आउनु भएको थियो ।
‘मलाई छोडेर कहाँ गयौं’ चन्द्राकुमारी अझै पनि छोराको शव राखिएको बाकसलाई अँगालो हालेर भन्दै हुनुहुन्थ्यो ‘मैले त नजा भनेको थिएँ ।’ चन्द्राकुमारीलाई सान्त्वना दिँदै हुनुहुन्थ्यो उहाँका ७९ वर्षीया पति यज्ञबहादुर सुवेदी । श्रीमतीलाई सम्झाउने यज्ञका पनि आँखाबाट आँसुका धारा बगिरहेका थिए ।
मृतकका फुपूका अनुसार सुवेदी घरबिदामा आएर फर्केको १५ दिनकै दिन अफगानिस्तानको काबुलमा आत्मघाती हमलामा पर्नुभएको हो । परिवारको साइलो छोरो विदुरका श्रीमती, दुई छोरा र छोरी छन् । उहाँलाई यसपटक फर्केर नजानु भनेर सबैले आग्रह गरेको उहाँकी फुपूले सुनाउनुभयो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...