१०–० को कीर्तिमानी जित
जेठ २३ – युरोकप फुटबलको तयारीमा रहेको क्रोएसियाले मैत्रीपूर्ण फुटबलमा शानदार जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा क्रोएसियाले सान मारिनोलाई १०–० ले हरायो ।
एकतर्फी नियन्त्रण रहेको खेलमा क्रोएसियाको शानदार जितका लागि मारियो मान्जुकी र निकोला कालिनिकले ह्याट्रिक गरे । घरेलु मैदानमा भएको खेलमा क्रोएसियालाई जिताउन मान्जुकीले २३, ३६ र ३८ तथा कालिनिकले ५९, ७३ र ८४ मिनेटमा गरी ह्याट्रिक पूरा गरेका हुन् ।
यस्तै इभान रेकिटिक, इभान पेरिसिक, डारिजो सर्ना र मार्को पजाकाले एक एक गोल गरे । अन्तर्राष्ट्रिय फुटबलमा क्रोएसियाले कुनै पनि टिमलाई फराकिलो अन्तरले हराएको यो पहिलो पटक हो ।
यसअघि क्रोएसियाले सन् १९९८ अस्ट्रेलिया तथा सन् २००६ मा एन्डोरालाई ७–० ले हराएको थियो । शनिबार रातिको खेलमा सुरुको २० मिनेटसम्म गोल नभएपनि पहिलो हाफमा क्रोएसियाले ६–० को अग्रता लियो । समूह डीमा रहेको क्रोएसियाले जेठ ३० गते पेरिसमा टर्कीसँग खेल्दै युरोकपको सुरुवात गर्ने छ ।




0 comments
प्रतिक्रिया दिनुहोस्...