-->
बाल्यकालमा डरपोक थिए 'धुर्मुस'

काठमाडौं: लाखौं दर्शकको मनमा बसेका कलाकार सीताराम कट्टेल कुनै समयमा निकै सोझो थिए । कसैको अगाडि गएर बोल्न नसक्ने। उनले शनिबार राजधानीको भृकुटीमण्डपमा'सेभ द चिल्ड्रन'ले आयोजना गरेको'एभ्री लास्ट चाइल्ड' अभियानको उद्घाटन कार्यक्रममा आफ्नो बाल्यकालको कथा सुनाए।
 
बाल्यकालमा डरपोक सीताराम उनकै भाषामा भन्दा कक्षा ४ बाट ५ मा पुग्दा अपर्झट सेकेन्ड भए । स्कुलमा नतिजा घोषण हुँदा दोस्रो स्थानमा आफ्नो नाम सुन्दा उनी ढलेका थिए रे। दोस्रो भएपछि उनलाई'एल्लो' हाउस समूहको नेता बनाइयो।'एल्लो' शब्दको अर्थ पनि शिक्षकलाई सोधेर थाहा पाएका उनलाई जन्डिस समूहको नेता बनाएजस्तो महसुस भयो।
 
हरेक शुक्रबार स्कुलमा आयोजना हुने अतिरिक्त क्रियाकलापमा सबै टोलीको प्रतिनिधित्व हुनुपर्थ्यो। एकपटक गायन प्रतियोगितामा उनको समूहका कसैले सहभागिता नजनाएपछि शिक्षकले उनलाई नै बोलाए। 
 
मञ्चअगाडि लुकेर बसेका उनलाई मञ्चसम्म पुग्न तीस किलोमिटर बाटो हिँडेजस्तो भयो। उनले भने,'त्यही दिन भुइँचालो गएजस्तो भयो, थरर काम्दै अगाडि पुगेँ।' स्वर कमाई कमाई गीत गाउँदा गाउँदै उनी माइकमै रोए।
 
गीत थियो,'मायालु आफ्नी आमालाई बिर्सने छोरा को छ र? ' डरले मञ्चमै रोएका सीताराम रुँदैरुँदै घर गए। त्यसै दिन उनलाई ठूलो ज्ञान प्राप्त भयो-निर्धक्क भएर बोल्नुपर्दो रैछ। उनले भने,'सायद त्यो दिन रुँदै अगाडि नबोलेको भए आज धुर्मुसको नामले चिनिने थिइनँ, केवल सीताराममा सीमित हुने थिएँ।' 
 
सिन्धुपाल्चोकमा दोस्रो नमुना बस्ती बनाइरहेका सीताराम आफैं पनि छोरीको पिता भएकाले बालअधिकारका लागि बढी संवेदनशील छन्। त्यसैले सो गाउँलाई उनीहरूले पूर्ण रूपमा बालमैत्री बनाइरहेका छन्।
 
सिंगो देशलाई बालमैत्री बनाउने अठोट बोकेर हिँडेका धुर्मुस अहिले आफ्ना हरेक काममा बालबालिकाको हितको पाटो पनि सोच्ने गर्छन्। उनले'सेभ द चिल्ड्रेन'ले विश्वव्यापी रूपमा सञ्चालन गरेको अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गरे।
 
यस अभियानअन्तर्गत नेपालमा पिछडिएका बालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणको अधिकार उपयोग गर्न सहयोग हुने कार्यक्रम सञ्चालन हुनेछन्। १३ देखि १८ वर्षका बालिकालाई विद्यालयमा नियमित बनाइरहन, गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन र घर र समाजभित्र संरक्षण दिलाउन यो अभियान केन्द्रित रहनेछ।
 
अभियानले पहिलो चरणमा पूर्वमा सप्तरी, पश्चिममा कपिलवस्तु, सुदूरपश्चिममा अछाम र बाजुरामा काम गर्नेछ। यस अभियानअन्तर्गत संस्थाले अबको तीन वर्षसम्म संसारका एक करोड ५० लाख पिछडिएका बालबालिकासम्म जीवनोपयोगी स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षाको पहुँच पुर्याउने लक्ष्य लिएको छ।
 
संस्थाका पैरवी तथा सञ्चार निर्देशक सुदर्शन श्रेष्ठले भने,'कागजमा लिखित अधिकारलाई वास्तविकतामा परिणत गर्न यो अभियान सुरु गरेका हौं।''सेभ द चिल्ड्रेन'की राष्ट्रिय निर्देशक डेलाइला बोर्जाका अनुसार यस अभियानले बालविवाह, सानो उमेरमै गर्भधारण तथा घर र विद्यालयमा हुने हिंसाले बालिकाहरूमा परेको गहिरो असर र यस्तो प्रवृत्तिलाई कम गर्न सरकार, नागरिक समाज र किशोरीहरूसँग नजिक भएर काम गर्नेछ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.