विहिबार ब्रिटिश जनताले यूरोपेली संघ छाड्ने पक्षमा बहुमत दिएपछि ब्रिटेनको घरेलु राजनीतिमा हलचल उत्पन्न भएको छ।
सत्तारुढ कन्सरभेटिभ दलका नेता प्रधानमन्त्री डेभिड क्यामरनले अक्टोबरभित्र पद त्याग्ने बताइसकेका छन् भने अब इयुभित्र रहनुपर्ने मतका पक्षधर विपक्षी दल लेबर पार्टिका नेता जेरेमी कोर्बिनमाथि पार्टिभित्रैबाट आलोचना भएका छन्।
आरोप
उनले सो पक्षमा पूरै मन लगाएर प्रचार नगरेको आरोप लागेको छ।उनको दलको छायाँ सरकारमा रहेका छायाँ विदेश मन्त्री हिलरी बेनलाई उनको राजीनामा मागेपछि हटाइएको छ।
लगत्तै उक्त छायाँ मन्त्रिमण्डलका सात सदस्यले राजीनामा दिएका छन्।
अझै थपले छाड्ने ठानिएको छ।
तर कोर्बिनका समर्थकहरुले चाहीं उनले दलका नेताको पदबाट राजीनामा नदिने बताएका छन्।
ती मध्येका एक छायाँ अर्थमन्त्री जोन म्याकडनलले भने, “जेरेमी कतै जाँदैछैनन्। नौ महिना अगाडी यस देशका कुनैपनि दलका नेताले भन्दा धेरै भारी बहुमतले उनी नेता चुनिएका हुन्। हाम्रा दलमा सदस्यहरु सार्वभौम हुन्छन्। तिनै सदस्यले जेरेमीलाई चुनेका हुन् र उनी रहन्छन्।”
अन्योल
ब्रिटेनले युरोपेली संघ छाड्ने निर्णय गरेको दुई दिन वितिसक्दापनि अब इयुसंग ब्रिटेनको नौलो सम्बन्धबारे आवश्यक कुराकानीको नेतृत्व कसले गर्छ भन्ने अन्योल कायम छ।
अक्टोबरभित्र प्रधानमन्त्री डेभिड क्यामरनले राजीनामा दिने बताएपछि उनको ठाउँ कसले लिने भन्ने बारे सत्तारुढ कन्सरभेटिभ पार्टिमा नेतृत्व प्रतिस्पर्धा हुँदैछ।
कन्सरभेटिभ दलका बहिर्गमन पक्षधरका एक प्रमुख नेता इयान डन्कन स्मीथले नयाँ प्रधानमन्त्री बहिर्गमन पक्षधर नै हुनुपर्ने बताएका छन्।
क्यामरन जस्तै थुप्रै कन्सरभेटिभ सांसदले इयुभित्रै रहनुपर्ने पक्षमा अभियान चलाएका थिए।(bbc nepali )


0 comments
प्रतिक्रिया दिनुहोस्...