-->
पोखरा विमानस्थल निर्माण थाल्न चिनियाँ टोली आयो

पोखरा: चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईको टोली पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको तयारी गर्न पोखरा आएको छ । परियोजना व्यवस्थापक जेरी याङ नेतृत्वमा १३ इन्जिनियरको टोली बिहीबार साँझ पोखरा आइपुगेको हो ।
 
टोलीले शुक्रबार विमानस्थल आयोजनाका अधिकारीहरूसँग छलफल गरी निर्माणस्थलमा केही प्रारम्भिक काम गर्यो । टोलीले धावनमार्ग बन्ने जमिनको सतह (लेभल) जाँचेको थियो । आउँदो सेप्टेम्बरबाट निर्माण थाल्ने तयारीमा जुटेको ठेकेदार कम्पनी सीएएमसीईले त्यसैको तयारीका लागि टोली खटाएको हो । टोलीले शुक्रबारै आयोजनाका अधिकारीसँग छलफल गरी अस्थायी क्याम्पका लागि जमिन मागेको छ । ‘हामी यहाँ बसेर काम गर्न ठाउँ हेरेका छौं', व्यवस्थापक याङले भने । ठेकेदार कम्पनीको कार्यालय स्थापनाका लागि अस्थायी पूर्वाधार अब तत्कालै तयार गरिने भएको छ ।
 
विमानस्थलको विस्तृत डिजाइनको ड्राफ्ट तयार पारिसकेको जानकारी याङले दिए । ‘डिजाइन फाइनल छिट्टै हुन्छ', उनले भने, ‘त्यसपछि निर्माण सुरु गर्छौं ।' प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १ गते विमानस्थलको शिलान्यास गरेका थिए । त्यसअघि उनकै चीन भ्रमणका बेला चैत ८ गते विमानस्थल निर्माणका लागि दुई देशीय ऋण सम्झौता भएको थियो । अब सरकार र नागरिक उड्डयन प्राधिकरणबीच सहायक ऋण सम्झौता हुन बाँकी छ । 

 
झन्डै २२ अर्ब रुपैयाँ ऋण चिनियाँ एक्जिम बैंकले नेपाल सरकारलाई दिँदैछ । त्यही पैसा सरकारले प्राधिकरणलाई दिने हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईलाई ठेक्का दिएको थियो । निर्माण गर्ने र निर्धारित समयमा नसके क्षतिपूर्तिसमेत सरकारलाई दिनुपर्ने सर्त भएको ईपीसी मोडलमा सीएएमसीईले ठेक्का लिएको हो ।
 
अहिले आएको चिनियाँ टोलीले अस्थायी क्याम्प निर्माण गरी आवश्यक पूर्वाधारको तयारी गर्ने व्यवस्थापक याङले बताए । ‘अफिस खोलेर बसेपछि काम गर्न सजिलो होला', उनले भने । चिनियाँ टोली आएर काम सुरु गर्न लागेकाले विमानस्थल आयोजनाले पनि मूल प्रवेशमार्गलाई यसै साता पक्की बनाएको छ । पछि चिनियाँ ठेकेदारले विमानस्थल निर्माणसँग उक्त मार्ग ढलान गर्ने भए पनि निर्माण क्रममा हुने आउजाउ सजिलो पार्न आयोजनाले अहिल्यै पक्की बनाएको हो ।
 
पोखराको वडा नं १४, १८ मा पर्ने झन्डै ३७ सय रोपनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुन लागेको हो । सरकारले २०३१ र हालै गरी दुई चरणमा त्यति जमिन अधिग्रहरण गरेको हो । हालै अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण लगभग सकिएको जानकारी आयोजना प्रमुख इन्जिनियर प्रदीप अधिकारीले दिए ।
 
राष्ट्रिय गौरवको आयोजना ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल' का लागि सरकारले यसपालिको बजेटमा ५ अर्ब रुपैयाँ विनियोजना गरेको छ । २०२९ सालमा ट्राभल एजेन्सीहरूको अन्तर्राष्ट्रिय संस्था प्यासिफिक एसोसियसन अफ ट्राभल एजेन्सी (पाटा) ले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सुझाएको थियो । पर्यटन विकासका लागि अन्तर्राष्ट्रिय विमानस्थल चाहिने सुझाइएपछि तत्कालीन अञ्चलाधीश शंकरराज पाठकको पहलमा जग्गा अधिग्रहण सुरु भएको थियो ।
 
अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ) को मादण्डअनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन् । २५ सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा आउनेजाने ती विमानको यात्रु क्षमता २ सय हुनेछ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.