-->
‘गुन्डा र ‘डन’ भन्नेहरु कसैलाई नछोड्नुस’

बनेपाः नेपाल प्रहरीका निमित्त प्रहरी माहानिरीक्षक विज्ञानराज शर्माले देशमा ब्याप्ता गुन्डागर्दी नियन्त्रणका लागि कडाइका साथ प्रस्तुत हुन मातहतका प्रहरीलाई निर्देशन दिएका छन् ।
 
आइतबार काभ्रेको धुलिखेलमा नागरिकसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले  विभिन्न जिल्लाबाट आएका जिल्ला प्रहरी प्रमुखहरुलाई अपराध र गुण्डागर्दीमा निर्मुल पार्न कडा निर्देशन दिएका हुन् । 

‘गुन्डाका लागि प्रहरी आक्रमक छ भन्ने देखाइदिनुहोस, गुन्डा र ‘डन’ भन्ने कसैलाई छोड्दैनौँ’, उनले भने, ‘गुन्डाहरुलाई ‘डन’ भन्ने होइन, अब अपराधी भनौँ, त्यसले गर्दा उनीहरुको आत्मबल घट्छ र अपराध नियन्त्रण हुन्छ ।’

कार्यक्रममा बोल्दै निमित्त प्रहरी महानिरीक्षक शर्माले स्थानीय सरकार नहुँदा प्रहरीलाई दोहोरो लोड परिरहेको पनि बताए । 

‘स्थानीय सरकार नहुँदा प्रहरीलाई सानातिना कुरादेखि ठूला काम कारबाही हेर्नुपरेको छ’, उनले भने, ‘प्रहरीमा प्रयाप्त स्रोत साधन कमी र  कामको बढी लोड छ । जसले अपराध अनुसन्धान र अपराध नियन्त्रणमा असर गर्ने गरेको छ ।’ 

शार्माले पर्याप्त स्रोत साधन नहुँदा कतिपय प्रहरी कार्यलयमा गाडी मर्मत तथा इन्धनका लागि व्यापारी, नागरिक समाजसँग गुहार लगाउनुपर्नेसमेत बाध्यता रहेको बताए ।

‘कार्यालयलाई पुग्ने इन्धन र मर्मतका लागि प्रयाप्त बजेट हुँदैन अनि सहयोग माग्नुपर्ने बाध्यता हुन्छ’, उनले भने, ‘जसले पुर्वाग्रह राख्छ त्यसका लागि प्रहरी सा्रोत साधन नभए पनि इन्धनको मात्रा थपिदिन्छौँ, त्यो परमपरा कम गर्दैछौँ ।’

पोशाकको विकल्प खोजिँदै
प्रहरीको नयाँ पोशाकप्रति संगठन र नागरिकबाट धेरै गुनासो आएकाले त्यसको विकल्पका लागि गृहकार्य भइरहेको उनले बताए । 

‘हामी नागरिकमैत्री पोशाकको खोजीमा छौँ, त्यसका लागि विज्ञहरुको सल्लाह र आफैं पनि अध्ययन गरिरहेका छौं’, उनले भने, ‘हामीलाई सूचना दिनुहोस, हामी तपाईँहरुलाई सेवा र सुरक्षा दिन्छौँ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले नागरिक र प्रहरीबीचमा असल सम्बन्ध भए जस्तोसुकै अपराध र अपराधी नियन्त्रण हुने बताए ।  

कार्यक्रममा जिल्लाका नागरिक समाजका सदस्य, व्यापारी र दलका नेताहरुले प्रहरीसँग आधारभूत स्रोत साधन नभएकाले समयमै अनुसन्धान र अपराधी पक्रन नसक्ने भएकाले प्रहरीलाई आधारभूत स्रोत साधन उपलव्ध गराउनुपर्नेमा जोड दिएका थिए ।
 
कार्यक्रममा काभ्रे, धादिङ, रसुवा, नुवाकोट र सिन्धुपाल्चोकका प्रहरी प्रमुखहरुको उपस्थिती रहेको जिल्ला प्रहरी प्रमुख एसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.