-->
उजेलीको विहे राजेश हमालका कारण रोकियो

उजेली ड्रिम
होस्टेलको माथिल्लो तलाबाट बैसाखी टेक्दै उजेली झरिन् । उनले आफूभित्रको पीडालाई भुलेर सबैलाई नमस्कार भन्दै गर्दा उनको मुहारमा छुट्टै चमक छाएको थियो । उत्साहले भरिएको उनको आवाजले सिन्धुपाल्चोकस्थित सेलाङ गाउँको परिस्थितिलाई यसरी वर्णन गर्न थाल्यो, ‘मेरो सेलाङ गाउँमा १० वर्षकै उमेरमा केटीहरूलाई माग्न आउँथे ।
 
गाउँका मान्छेले छिट्टै विवाह गरिदिने भएकाले धेरैले दुःख पाएका छन् । मलाई त ९÷१० पटक विवाहका लागि माग्न आए । म भागेर जंगलमा पनि बसेको छु । कति दिन ओढारमा बसेँ ।
 
यतिमात्र कहाँ हो र, भूतले तर्साउँछ भनेर बाख्रासँग पनि सुतेकी छु । अहिले सम्झिँदा डर लाग्छ ।’ उजेलीले आफ्नो सम्झँदा उनको आँखा पनि रसाइसकेका थिए । यस क्षेत्रमा छोरीलाई आमा बुबाले नै जवर्जस्ती विवाह गराइदिने गरेका छन् ।
 
गत वैशाख ११ गते विद्यालय अगाडि मोटरसाइकलले हान्दा उनको देब्रे खुट्टा भाँचिएको छ । खुट्टामा स्टिल हालेर अप्रेसन गरिएको छ । तर उनको शरीरको यो चोटभन्दा मनको चोट गहिरो छ । आफूजस्तै अन्य धेरै बालिकाले सानै उमेर विवाह गर्दा पाएको दुःख सम्झँदा उनलाई पीडा हुन्छ ।
 
उजेली गरिब परिवारमा जन्मिएकी हुन् । उनी अरूभन्दा अत्यन्तै फरक छिन् । यही फरक भएकै कारण उनले बीबीसी नेपाली सेवाको साझा सवालमा समेत फरक प्रस्तुति दिइन् ।
 
साझा सवाल कार्यक्रममा नायक राजेश हमाल सेलाङ पुगेका थिए । त्यही दिन उनलाई विवाहका लागि केटा माग्न आउने र दिने निधो भएको थियो । तर, राजेश हमालका कारण उनको विवाह रोकियो ।
 
साझा सवालमा उनले राजेश हमाल र कार्यक्रम प्रस्तोता विद्या चापागाईंलाई मात्र रुवाइनन्, साझा सवाल हेर्ने विश्वभरका दर्शकलाई रुवाइन् । उनले भनेकी थिइन्, ‘ सहरमा धरहरा छ रे, ठूलो गाडी छ रे, रमाइलो हुन्छ रे , यो गाउँका मान्छेहरूले त्यो धरहरा नहेरी मर्ने भयो । सार, यो गाउँका मान्छेले कहिलै सुख पाउँदैनन् ।’ यही वाक्यले उजेलीलाई काठमाडौंसम्म ल्याइपु¥यायो । हाल उनी बौद्धस्थित जेनिसिस् एकेडेमीमा कक्षा ५ मा छात्रवृत्तिमा अध्ययन गरिरहेकी छिन् ।
 
‘यहाँका मान्छेहरू काठमाडौं नदेखेरै मर्छ, बस चढ्नै पाउँदैन सर । हाम्रो भाग्यमा खुसी छैन ।’ उनले बीबीसीमा यस्तै भनेकी थिइन् ।
 
सेलाङ बस्तीको पाँचपोखरी प्राथमिक विद्यालयमा कक्षा ५ मा अध्ययन गर्दागर्दै छोडेकी उजेलीलाई धेरै केटाहरूले माग्न आएका थिए । तर उनले कहिल्यै विवाह गर्न मानिनन् । उनी सम्झिन्छिन्, ‘हाम्रो हिरो राजेश हमाल जानु नभएको भए मेरो विवाह हुन्थ्यो ।’
 
उजेलीले अहिले धेरै अंग्रेजी शब्दहरू प्रयोग गर्न सिकिसकेकी छिन् । उनी सुनाउँछिन् ‘ मेरो ड्रिम भनेको सेलाङ गएर बालविवाह रोक्ने र चेलबेटी बेचबिखनविरुद्ध अभियान चलाउने हो । सर, सुनेको छु धेरै दिदीबहिनी लगेर बेच्छ रे । होइन कहाँ बेच्छ, किन बेच्छ ? बिचरा कति दुः ख हुन्छ होला ।’ गाउँको साथीहरूले पनि उनलाई तिमी त सहरमा जाने भयो, अब धेरै पढेर केही गर्नु भनेका थिए रे ।
 
उजेलीको विषयमा साझा सवालले प्रस्तुत गरेपछि पहिलो पटक थेल्मा एन्ड लुइज नेपालका प्रतिनिधि गाउँमा पुगेका थिए । यही संस्थाले उजेलीलाई जेनिस एकेडेमीमा छात्रवृत्ति दिएर पढाइरहेको छ । संस्थाका सचिव तथा जेनिस एकेडेमीका प्रिन्सिपल प्रमिला योञ्जनले उजेलीको अध्ययन सुधार हुँदै आएको बताए । अझै अंग्रेजीमा उनले धेरै सुधार्नु आवश्यक छ, नेपाली ठीकै छ ।
 
जेनिसिस् एकेडेमी महिलाले सञ्चालन गरेको विद्यालय हो । विद्यालयका संस्थापक रुस्मा थोकरले भनिन्, ‘उजेलीलाई जुन जोखिम लिएर ल्याएका छौं हाम्रो लागि चुनौती र अवसर दुवै हुनेछ ।’
 
उनका अनुसार उजेलीको मस्तिष्क तेज छ र उनमा केही न केही आन्तरिक क्षमता छ । उजेलीले विद्यालयमा प्रवेश गर्दा ‘वेलकम उजेली’ कार्यक्रम राखिएको थियो ।
 
उनी अहिले कविता लेख्ने, कराँते खेल्नेलगायतका क्रियाकलापमा पनि सक्रिय छिन् । उजेलीको बहुआयामिक प्रतिभाको प्रशंसा गर्दै विद्यालयकी संस्थापक रुस्माले भनिन् ‘ मलाई अचम्म लाग्छ, दुर्गम सेलाङमा जन्मिएको उजेली सोचेभन्दा फरक छिन् । हामी उनलाई ‘लिडर’ बनाउन चाहन्छौं ।’


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.