काठमाडौं, २३ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले अन्य देशले गरेको कार्बन उत्सर्जनले नेपाली प्रभावित हुनुपरेको बताएका छन् ।
विश्व वातावरण दिवसका अवसरमा वातावरणीय विकास तथा संरक्षण कानुनी मञ्चले आइतबार काठमाडौंमा आयोजना गरेको वातावरण कानुन जर्नल सार्वजनिक कार्यक्रममा उनले नेपालले पश्चिमा राष्ट्रले गरेको कार्बन उत्सर्जनमा प्रभावित हुनुपरेको बताए ।
विश्व जलवायु परिवर्तनको चपेटामा परिरहेको उल्लेख गर्दै मन्त्री पोखरेलले वातावरण संरक्षणका लागि निरन्तर अभियान जारी राख्नुपर्नेमा जोड दिए । उनले दृश्य प्रदूषणलगायतका कतिपय प्रदूषण मानवीय कारणले हुने गरेको र त्यसलाई नियन्त्रण गर्न सरकारी तथा निजी क्षेत्र सबै लाग्नुपर्ने आवश्यकता औँल्याए ।
न्यायाधीश आनन्दमोहन भट्टराईले स्वास्थ्यका लागि वातावरण अति महत्वपूर्ण कुरा भएको र त्यस विषयमा अदालतले दिएका आदेशहरुको समेत पालना गरेर अघि बढ्न आग्रह गरे ।
राष्ट्रिय योजना आयोगका सदस्य डा सुमित्रा अमात्यले नेपालका सम्पूर्ण राजनीतिक दलहरुले आमनागरिकको स्वास्थ्यको रक्षाका लागि एकताबद्ध भएर वतावरण संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए ।
काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिङ तामाङले सर्वोच्च अदालतले दिएको आदेशअनुसार काठमाडौँमा जथाभावी दृश्य प्रदूषण हुने गरी टाँसिएका होर्डिङबोर्ड हटाउने बताए ।
कार्यक्रममा दृश्य प्रदूषण आजको समस्या र सर्वोच्च अदालतको फैसलासम्बन्धी अधिवक्ता पदमबहादुर श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै पर्चा, पम्पेट, ब्यानर, फिल्मी पोस्टर, होर्डिङबोडले सहरको सुन्दरतामा नकारात्मक असर पारेको उल्लेख गरे ।
मञ्चका अध्यक्ष श्यामकुमार बस्नेतले वातावरण संरक्षणका लागि एक दिनमात्र नभएर वर्षभरि नै अभियानका रुपमा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको र मञ्चले पनि वातावरण संरक्षणका क्षेत्रमा निरन्तर काम गरिरहेको बताए । कार्यक्रममा मन्त्री पाखरेल र न्यायाधीश भट्टराईले वातावरण कानुन जर्नलको सार्वजनिक गरे । रासस
0 comments
प्रतिक्रिया दिनुहोस्...