-->
नेपाल–भारतका सीमाका एक सय ४७ पिलर गायब

विराटनगरः भारतको अररियास्थित फरवेसगन्जमा शुक्रबार सम्पन्न भएको नेपाल र भारतका अधिकारीको संयुक्त बैठक दुई देशबीचको सिमाना छुट्याउनका लागि निर्माण गरिएका सीमास्तम्भ (पिलर) का विषयमा केन्द्रित भएको छ ।
 
फिल्ड सर्भे टिममा रहेका दुई देशीय अधिकारीको संयुक्त बैठक सीमास्तम्भ मर्मतसम्भार, खोज र निर्माणमा केन्द्रित रहेको हो । नेपालस्थित पूर्वका झापा, मोरङ र सुनसरी तथा भारतका अररिया, सुपौल र किसनगन्जको बीचमा पर्ने सीमास्तम्भको निरीक्षण अनुगमन, स्तम्भको गणना, पुननिर्माण र मर्मत सम्भारको काम गर्न गठन गरिएको नेपाल र भारतका अधिकारी सम्मिलित संयुक्त फिल्ड सर्भे टिमले एक वर्षदेखि काम गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी टिमको लिडर छन् । बैठकमा एक वर्षको कार्य प्रगतिका विषयमा समेत समीक्षा भएको अधिकारीले बताएका छन् ।
 
बैठकमा नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारीहरू मोरङका तोयम राया, झापाका मदन भुजेल र सुनसरीका मोहनबहादुर चापागाईं तथा तीनवटै जिल्लाका प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुखहरू, भवन, वन तथा नापी कार्यालयका प्रमुखहरू सहभागी थिए । भारतका तर्फबाट अररियाका जिल्ला प्रमुख हिमांसु शर्मा, किसनगन्जका प्रकज दिक्षीत, सुपौलका सहायक जिल्ला प्रमुख अरुण कुमार तथा त्यहाँका सुरक्षा, भवन, वन तथा नापीका प्रमुख सहभागी थिए ।
 
मोरङका प्रजिअ रायाका अनुसार बैठकमा फिल्ड सर्भे टिमले एक वर्षमा नेपाल–भारतको सिमानामा चार सय ९३ वटा सीमा स्तम्भ (पिलर) मर्मत सम्भार गरेको छ । पुराना स्तम्भ क्षति भएपछि त्यही ठाउँमा ७९ वटा नयाँ स्तम्भ निर्माण गर्नु परेको छ । मर्मत गरिएका मध्ये भापामा दुई सय ९८, मोरङमा ७५ र सुनसरीमा एक सय २० वटा सीमास्तम्भ रहेको जानकारी रायाले दिए । त्यस्तै नयाँ निर्माण गरिएका पिलरहरूमा झापामा ७४ र मोरङमा पाँचवटा रहेको उनले बताए ।
 
उनका अनुसार एक वर्षको अवधिमा चार सय ८९ वटा सीमास्तम्भको निरीक्षण अनुगमन भएको छ । अनुगमन गरिएका मध्ये चारवटा मात्र राम्रो अवस्थामा रहेको पाइयो । प्रजिअ रायाले भने, ‘दुई सय ८४ वटामा सामान्य क्षति भएका रहेछन् । ५४ वटामा ठूलै क्षति पुगेको पाइयो ।' उनका अनुसार नेपाल–भारत सिमानाका एक सय ४७ वटा सीमास्तम्भ (पिलर) हराएका पाइए । सीमास्तम्भ कसरी गायव भए भन्ने बारेमा पनि खोजी गर्न दुवै देशका अधिकारी सहमत भएका छन् ।
 
‘क्षति भएका पिलरको मर्मत सम्भार गर्ने र हराएका पिलरको खोजी गर्ने सहमति पनि बैठकमा भएको छ,' रायाले भने, ‘सीमास्तम्भका विषयमा केन्द्रीत बैठक हार्दिकताका साथ सम्पन्न भयो ।' सीमास्तम्भकै सन्दर्भमा आर्थिक वर्ष २०७२/०७३ को काम सम्पन्न भएर त्यसको समीक्षा भएको जानकारी दिँदै उनले भने, ‘आव २०७३÷०७४ मा काम कसरी गर्ने भन्ने विषयमा पनि केन्द्रीत रहेको बैठकले थप छलफल गरेर नौं बुँदे सहमतिसमेत गरेको छ ।'
 
बैठकमा बाँकी रहेका पिलरका विषयमा आगामी वर्ष मर्मत सम्भारका काम गर्ने र सबै पिलर यथास्थानमा राख्ने, मर्मत सम्भार भएका पिलरको दुवै देशका अधिकारी मिलेर सुरक्षा प्रदान गर्ने, दुई पक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने, समयसमयमा सुरक्षा निकायबीचको भेटघाटलाई निरन्तरता दिने, दसगजा क्षेत्रको अतिक्रमणलाई व्यवस्थापन गर्न पहल गर्नेलगायतका सहमति भएको जानकारी रायाले दिए । उनका अनुसार बैठकमा दुई देशीय शान्ति सुरक्षाको सन्दर्भमा केही कुरा उठेर छलफल भए पनि त्यसलाई लिएर कुनै सहमति भने भएन ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.