-->
पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वप्रधानमन्त्रीहरु विरुद्ध उजुरी

काठमाडौँ, ३० जेठ, द्वन्द्वका बेला नेपाली सेनाले २७ महिनासम्म बेपत्ता अवस्थामा राखेका मुक्तबन्दी कृष्ण केसीले आज सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गराएका छन् । बागलुङ नगरपालिका वडा नं ३ स्थायी ठेगाना भएका केसीले पूर्वराजा ज्ञानेन्द्र शाह तथा

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउवामाथि कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका हुन् । आयोगका अध्यक्ष सूर्यकिरण गुरुङलाई बुझाएको उजुरीमा जनयुद्ध सुरु भएदेखि २०६२÷०६३ को जनआन्दोलनसम्मका सरकारका प्रधानमन्त्री र शाही कदममार्फत सत्ता हातमा लिएका पूर्वराजा ज्ञानेन्द्र शाह युद्धकालका प्रमुख दोषी भएकाले कारबाहीको दायरामा ल्याउन अपिल गरिएको छ । केसीले आयोगका अध्यक्ष गुरुङसमक्ष द्वन्द्वकालका घटना निष्पक्षतापूर्वक छानबिन गर्न र दोषीमाथि कठोर दण्ड सजायको सिफारिस गर्न आग्रह गरे । विसं २०६० भदौ २७ गते काठमाडौँको मनोहरा पुलबाट पक्राउ परेका केसीलाई नेपाली सेनाले भैरवनाथ गण र काठमाडौँ उपत्यकाका विभिन्न सैनिक ब्यारेक तथा गोरखाको महेन्द्र दल गणमा ८१० दिनसम्म बेपत्ता अवस्थामा राखिएको पनि उजुरीमा उल्लेख छ । सत्यनिरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालका घटनाबारे उजुरीका लागि असार २ गतेसम्मको समय दिएको छ । पर्याप्त उजुरी नपरेको भन्दै आयोगले म्याद थप्ने विषयमा पनि सोचिरहेको आयोगका सहसचिव राधाकृष्ण प्रधानले बताए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.