धनकुटा, १२ असार, उपप्रधानमन्त्री कमल थापाले धर्म निरपेक्षताको आडमा भइरहेको धर्म परिवर्तन गराउने कामले नेपालमा धार्मिक हिंसा हुन सक्ने खतरा औल्याएका छन् । नेपाल सरकारका उपप्रधान, परराष्ट्र एवम् स्थानीय विकास मन्त्री समेत रहेका थापाले शनिबार धनकुटा सदरमुकाममा राप्रपा नेपालले आयोजना गरेको 'हिन्दू जागरण अभियान' कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । विदेशीको प्रभावमा अभियानकै रुपमा धर्म परिवर्तन गराउने काम भइरहेको भन्दै थापाले त्यसकै कारण समाजमा भूसको आगोझै धार्मिक हिंसा बढ्न सक्ने खतरा बढ्दै गएको बताए । 'अहिले केही भइहालेको छैन' थापाले भने 'यही अवस्था रहिरहने हो भने नेपालमा भूसको आगो जस्तै गरेर धार्मिक सद्भाव बिग्रन सक्छ ।' नेपालीबीचको सद्भाव कायम राख्न अब धर्म परिवर्तन गराउने काम तत्काल रोक्नुपर्ने थापाको भनाई छ । नेपाललाई जबरजस्त धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको आरोप लगाउँदै थापाले जनमत संग्रह गर्ने हो भने ९० प्रतिशत जनताले हिन्दू राज्यको पक्षमा मतदान गर्ने दावी गरे । नेपालको संविधानमा वैचारिक स्वतन्त्रता, दललाई प्रतिबन्ध लगाउन नपाउने, आवधिक निर्वाचन र संविधानलाई परिस्थिति अनुसार सरल संशोधनको ब्यवस्था रहेकाले राप्रपा नेपालले एकदिन हिन्दू राष्ट्र फर्काएरै छोड्ने जिकिर गरे । उनले भने 'हिन्दू राष्ट्र कायम गर्न हामी असफल भयौ तर, पराजित भएर भागेका छैनौं ।' फरक प्रसंगमा उपप्रधानमन्त्री थापाले आफ्नो पार्टीले दशैँ अगाडि नयाँ शक्तिसँग पार्टी एकीकरण गर्ने बताएका छन् । अब राजनीतिक विवाद छाडेर मुलुकको आर्थिक विकासमा लाग्नुपर्ने आवश्यकता रहेको उनले बताए । लामो समयको राजनीतिक अस्थिरताले मुलुकको अवस्था बिग्रँदै गएको प्रति चिन्ता ब्यक्त गर्दै थापाले मुलुकको समृद्धिका लागि सबै दललाई गम्भीर हुन आग्रह पनि गरेका छन् । कार्यक्रममा राप्रपाका नेता राजेन्द्र लिङ्देन, राम थापा, केदार कोइराला लगायतले नेपाललाई हिन्दु राष्ट्र निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
1 comments
प्रतिक्रिया दिनुहोस्...
June 25, 2016 at 11:39 PM
desh ma sanatana hindu rastra ko pakche ma khulera bolna sakne marda neta eutai kamal thapa rahechan. 90 percent hindu haru le pani laaj maneenan. hare krishna