-->
वरिष्ठ संगीतकार अम्बर गुरुङ रहेनन्

काठमाडौं, जेठ २३ – वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन भएको छ । राष्ट्रिय गानका संगीतकार गुरुङको  ७९ वर्षको उमेरमा काडमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मंगबार बिहान २ बजे ३७ मिनेटमा  निधन भएको हो ।

संगीतकार गुरुङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ११ बजेपछि राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा राखिने साहित्यकार प्रकाश सायमीले जानकारी दिनुभयो । 

श्वासप्रश्वासमा समस्या देखिएपछि संगीतकार गुरुङलाई सात दिनअघि अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि शुक्रबार बिहान उहाँलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको हो । श्वासप्रश्वाससँगै गुरुङ भोजन नलीमा समस्या, श्वासप्रश्वासमा केही जटिलता, मधुमेह तथा उच्च रक्तचापलगायत समस्याले ग्रसित हुनुहुन्थ्यो ।

उहाँ भारतको मेदान्त अस्पतालमा उपचार गरी गएको चैत १७ गते नेपाल फर्किनुभएको थियो । दार्जिलिङमा १९९४ फागुन १४ मा बुवा उजिर सिंह गुरुङ र आमा रेनुका देवीको कोखबाट उहाँको जन्म भएको थियो । उहाँका बुबा र हजुरबुबा देवराज गुरुङ पनि सेनाका जागिरे हुनुहुन्थ्यो । अम्बर गुरुङको पुर्ख्यौली घर गोरखा जिल्लाको रिसिङ हो । उहाँका तीन छोरा र एक छोरी छन् ।

झण्डै एक हजार गीतमा संगीत

राष्ट्रिय गानका संगीतकारसमेत रहनु भएका संगीतकार गुरुङले ९ सय ९४ गीतमा संगीत दिनुभएको छ । २०१८ सालमा अगम सिंह गिरीको शब्दमा ‘नौलाख तारा उदाए’ बोलको गीत आफ्नै संगीतमा गाएर उहाँले सांगीतिक यात्रा सुरु गर्नुभएको थियो ।

यो गीत भारतविरोधी भन्दै अल इन्डिया रेडियाले प्रतिबन्ध लगाएको थियो । २०२१ सालमा दार्जिलिङबाट नेपाल आउनुभएका संगीतकार गुरुङले काठमाडौंमा रुपरेखा साँझ नाम सांगीतिक कार्यक्रम गुर्नभएको थियो ।

नेपाल आएलगतै उहाँलाई तत्कालीन राजा मेहन्द्रले राजकीय प्रज्ञाप्रतिष्ठानमा संगीत निर्देशकको रुपमा नियुक्त गर्नुभएको थियो ।

उहाँका चर्चित गीतमा स्वरसम्राट नारायण गोपालले गाएको मेरो आँखालाई राख्ने फूलबारी छैन, पोखिएर घामको झुल्का, अरुणा लामाले गाएको पोहोसाल खुसी फाट्यो, प्रेमध्वज प्रधानले गाएको हाँस्ने रहरहरु सहितका छन् । उहाँ आफैले गायको उकाली चड्दा पसिना पुछ्ने, म दूर भएर के भयो सहितका गीत पनि चर्चित छन् । उहाँले रातो र चन्द्र सूर्यमा पनि संगीत दिनुभएको छ ।

नाटक र चलचित्र

उहाँले चलचित्रमा मनको बाँधमा पृष्ठ संगीत, जीवन रेखामा पाश्र्व संगीत तथा गीति नाटक मालती मंगले, मुना मदन, कुन्जिनी तथा नाटक फर्केर हेर्दा, जब घाम लाग्छमा पनि संगीत गर्नुभएको थियो । उहाँकै संगीतमा अरुणा लामा तथा रुद्रमणि गरुङले पहिलो पटक गीत गायका थिए ।

उहाँ गोपाल योञ्जन, कर्म योञ्जन, शरण प्रधान, रञ्जित गजमेर, शान्ति ठटाल गुरु हुनुहुन्छ । संगीतकार गुरुङले २०५४ सालमा नेपालमा क्वायर संगीतिक प्रस्तुति गर्नुभएको थियो । कहिले लहर कहिले तरंग तथा दोभान उहाँका चर्चित एल्बम हुन् ।

पुरस्कार र सम्मान

वि.सं. २०५४ सालको जगदम्बाश्री पुरस्कार, २०२८ सालमा गोरखा दक्षिणबाहु चौथो, २०३८ सालमा इन्द्रराज्यलक्ष्मी पुरस्कार, २०४७ सालमा छिन्नलता गीत पुरस्कार गुरुङलाई प्रदान गरिएको थियो । नेपाली सेनाको सैनिक गीतमा संगीत दिनुभएका गुरुङलाई सेनाले ‘मानार्थ महासेनानी’को उपाधि दिएको छ ।

अम्बर गुरुङलाई सन् २०१४ हङकङमा हिमालयन् टोन्स म्युजिक एकेडेमीले ‘महासंगीतकार’ को उपाधि पाउनुभएको थियो । त्यस्तै, सन् १९९४ मा गिरी पुरस्कार गुठी दार्जिलीङबाट सम्मानित हुनुभएको थियो । 



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.