-->
बङ्गलादेशमा व्यापारीको हत्या

बङ्गलादेशको उत्तरपश्चिममा अवस्थित बोनपारा गाउँमा आइतबार एक अल्पसङ्ख्यक क्रिश्चियन धर्मावलम्बीलाई धारिलो हतियारले आक्रमण गरी हत्या गरेको प्रहरीले बताएको छ। उनी स्थानीय किराना व्यापारी थिए। 

आईएस लडाकूले अल्पसङ्ख्यक धर्मावलम्बी र मानवअधिकारकर्मीमाथिको आक्रमणलाई तीब्र बनाइरहेका बेला आइतबार क्रिश्चियन समुदायको पुरानो बस्ती बोनपारामा एक अज्ञात समूहद्वारा ६५ वर्षीय सुनिल गोम्सको हत्या गरेको छ।  गोम्सलाई चर्च नजिकै रहेको उनको किराना पसलमा काम गरिरहेको बेला धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ, नाटोर इलाकाका प्रहरी उपप्रमुख साफिकल इस्लामले बताए। 

घटना बङ्गलादेशमा आतङ्कवादविरुद्धको अभियानमा सक्रिय एक उच्च अधिकारीकी पत्नीलाई बङ्गलादेशको दक्षिणपूर्वी गाउँ चितागोङमा शङ्कास्पद अतिवादी समूहले गरेको क्रुर आक्रमणको केही घन्टापछि भएको हो। 

बङ्गलादेशमा धर्मनिरपेक्षवादी तथा उदारवादी अधिकारकर्मी र अल्पसङ्ख्यक धर्मावलम्बी अगुवाहरुमाथि गरिएका आक्रमणमा विगत तीन वर्षमा ४० जनाको हत्या भएको छ।  आक्रमण स्थानीय आईएस विद्रोहीले गराएको हुनसक्ने बङ्गलादेशका अधिकारीले बताएका छन्। तर आक्रमणप्रति कुनै समूहले जिम्मेवारी लिएको भने छैन। 

पछिल्लो हत्या के उद्देश्यले गरिएको थियो भन्नेबारे अझै प्रष्ट सूचना आइसकेको छैन। यद्यपि यो आक्रमण पनि हिन्दू अल्पसङ्ख्यक तथा अन्य अल्पसङ्ख्यक समुदायमाथि हालैका केही महिनायता गरिएका घटनासँग मिल्दोजुल्दो देखिन्छ, इन्स्पेक्टर अब्दुर रजाकले बताए। 

बङ्गलादेशमा इटालीका क्याथोलिक धर्मगुरुलाई उत्तरी भूमागमा गएको वर्ष आक्रमण गरिएको थियो। जसको जिम्मेवारी आईएस समूहले लिएको थियो।

बोनपारा क्याथोलिक चर्चका प्रमुख विकास हवर्ट रेवेइरोले बताएअनुसार गोम्स एक इमान्दार क्रिश्चियन धर्मावलम्बी रहेको र उनले चर्चमा मालीका रुपमा काम गर्दै आएका थिए। 

गोम्सका भाइ भने क्रिश्चियन धर्मगुरु (प्रिस्ट) हुन्। रासस/एएफपी 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.