-->
'नेपाल आतंकवादीको 'ट्रान्जिट' बन्ने खतरा

काठमाडौं: अमेरिकाले नेपाल र भारतबीचको खुला सीमा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कमजोर सुरक्षा नियमन प्रणालीका कारण अन्तर्राष्ट्रिय आतंकवादी समूहले नेपाललाई 'पारवहन विन्दु' वा 'उद्गमस्थल' का रूपमा उपयोग गर्न सक्ने खतरा बढ्दै गएको जनाएको छ।
 
अमेरिकी विदेश मन्त्रालय 'स्टेट डिपार्टमेन्ट' द्वारा हालै सार्वजनिक सन् २०१५ भर विश्वका विभिन्न मुलुकमा विद्यमान आतंकवाद समस्यासम्बन्धी प्रतिवेदनमा नेपाली भूमिलाई अन्तर्राष्ट्रिय आतंकवादी समूहले दुरुपयोग गर्नसक्ने खतरा बढ्दै गएको औंल्याइएको हो। 
 
'नेपालमा आतंकवाद अथवा आपराधिक नेटवर्कहरूलाई भौतिक सहयोग गर्नेहरूलाई गैरकानुनी बनाउने निश्चित कानुनको अभाव छ। कानुन अभावमा नेपालका अदालतले हत्या वा आगजनीविरुद्धका कानुनलाई टेकेरै आतंकवादसम्बन्धी मुद्दा अघि बढाउने गरेका छन्,' प्रतिवेदनमा छ।
 
नेपालका अधिकांश सरकारी अधिकारीले नेपाली भूमिमा अन्तर्राष्ट्रिय आतंकवादी घटना हुन नसक्ने तथा त्यस्ता जोखिम न्यून रहेको विश्वास गर्ने गरेको पनि प्रतिवेदनमा उल्लेख छ। 'त्यस कारण नेपालमा अहिले अन्तर्राष्ट्रिय आतंकवादविरुद्धको कानुन निर्माण गर्ने विषयमा खासै प्रगति भएको देखिँदैन,' अमेरिकी विदेश मन्त्रालयले भनेको छ।
 
आतंकवादी घटना हेर्न नेपाल प्रहरीभित्र विशेष ब्युरो रहेको भए पनि प्रहरीका कानुन कार्यान्वयन एकाइसँग शंकास्पद आतंककारीलाई प्रभावकारी रूपमा पहिचान, प्रतिरोध र नियन्त्रण गर्ने क्षमता कमजोर रहेको प्रतिवेदनमा जनाइएको छ। नेपालले दक्षिण एसियाका अन्य मुलुकको आग्रहमा आतंकवादीको पहिचान तथा पक्राउ गरी अनुसन्धान अघि बढाउने गरेको प्रतिवेदनमा जनाइएको छ।
अमेरिकी विदेश मन्त्रालय 'स्टेट डिपार्टमेन्ट' द्वारा हालै सार्वजनिक सन् २०१५ भर विश्वका विभिन्न मुलुकमा विद्यमान आतंकवाद समस्यासम्बन्धी प्रतिवेदनमा नेपाली भूमिलाई अन्तर्राष्ट्रिय आतंकवादी समूहले दुरुपयोग गर्नसक्ने खतरा बढ्दै गएको औंल्याइएको हो। 
त्रिभुवन विमानस्थलमा यात्रुको 'ब्यागेज स्क्रिनिङ' मा आधुनिक प्रविधि नरहेको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ। नेपाल प्रहरीका अधिकारीहरूलाई अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको प्रतिआतंकवाद सहायता कार्यक्रममा सहभागी गराइएको उल्लेख गर्दै प्रतिवेदनमा आतंकवादीको प्रवेश हुन सक्ने नेपालको हवाई तथा जमिनका सिमाना विन्दुमा खटिने प्रहरी अधिकारीको क्षमता अभिवृद्धिका लागि उक्त कार्यक्रम केन्द्रित रहेको उल्लेख छ।
 
नेपालले वित्तीय अपराध नियन्त्रणको क्षेत्रमा सन् २०१५ मा केही प्रगति गरेको जनाउँदै अमेरिकी विदेश मन्त्रालयले बित्तिय अपराध अनुसन्धान, केस म्यानेजमेन्ट, इन्टर एजेन्सी तथा डिपार्टमेन्टको समन्वयलगायतका क्षेत्रमा नेपालले अझै विज्ञता हासिल गर्नुपर्ने औंल्याएको छ। 
 
सरकारी निकायमा रहेको भ्रष्टाचार, विशाल खुला मिमाना र सीमा नियमनमा रहेको कमजोर व्यवस्था, सीमित वित्तीय क्षेत्र नियमन र विशाल अनौपचारिक ढंगबाट हुने अर्थतन्त्रलगायतका कारणले नेपाललाई कालो धन तथा वित्तीय अपराधले गिजोलिरहेको प्रतिवेदनमा उल्लेख छ।
 
नेपालमा हुन्डी तथा हवला गैरकानुनी रहे पनि नेपालबाट अन्य मुलुकमा तिनै दुई माध्यमबाट पैसा गइरहेको प्रतिवेदनले जनाइएको छ। 'नेपालमा बैंकलगायत औपचारिक च्यानलबाट रेमिट्यान्स भित्रिनुका अलावा अझै पनि ४० प्रतिशत हुन्डी वा हवलाबाट रेमिट्यान्सको कारोबार भइरहेको देखिन्छ,' प्रतिवेदनमा उल्लेख छ। 
 
नेपाल सरकारले हुन्डीबाट हुने गैरकानुनी कारोबार रोक्न नसकेको उल्लेख गर्दै प्रतिवेदनमा नेपाल र भारतबीचको खुला सिमानाका कारण नक्कली मुद्रा र सुनको कारोबार नियन्त्रण हुन नसकेको पनि जनाइएको छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.