-->
अम्बर गुरुङको अन्त्येष्टि, छोरा किशोरले दिए दागबत्ती

काठमाडौंः मंगलबार बिहान निधन भएका वरिष्ठ संगीतकार अम्बर गुरुङको हिन्दु–बौद्ध परम्पराअनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 
 
गुरुङको पार्थिव शरीरमा उनका जेठा छोरा किशोर गुरुङले दागबत्ती दिए । नौ लाख तारा उदाए...........बाट गायन तथा सांगीतिक यात्रा थालेका गुरुङको निधनसँगै नेपाली संगीतक्षेत्रको एउटा चम्किलो तारा सदाका लागि अस्ताएको छ । 

उनलाई राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको हो । अन्त्येष्टिअघि नेपाली सेनासहितले गुरुङलाई सलामी दिएका थिए ।

दिउँसो तीन बजे कमलादीस्थित प्रज्ञाप्रतिस्थान परिसरबाट नेपाली सेनाको गाडीमा राखेर काठमाडौंको विभिन्न ठाउँ हुँदै गुरुङको पार्थिव शरीर पशुपतिनाथको आर्यघाट पुर्याइएको थियो। 
 
शव यात्रा कमलादीबाट, पुतली सडक, कृष्ण पाउरोटी, कमल पोखरी, ज्ञानेश्वर, रातोपुल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुगेको थियो । शवयात्रामा दलका नेता, सांगीतिक क्षेत्रका सयौं हस्तीहरु र हजारौं सर्वसाधरण सहभागी भएका थिए ।  
 
अन्तिम श्रद्धाञ्जलीका लागि गुरुङको पार्थिव शरीरलाई धापास्थित ग्रान्डी अस्पतालबाट ल्याएर बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म प्रज्ञाप्रतिष्ठानमा राखिएको थियो।  
 
उनको पार्थिव शरीरमा श्रद्धाञ्जलीका लागि नेपाल सरकारका मन्त्रीहरु, कलाकार, साहित्यकार, चित्रकार लगायत सर्वसाधारणको बाक्लो उपस्थिति थियो। पशुपति आर्यघाटमा पनि सरकारका उच्च पदस्थ अधिकारी, संगीत प्रेमी, गीत संगीतकर्मी र हजारौं सर्वसाधरणको भींड लागेको थियो । 
 
 मंगलबार बिहान २ बजेर ३७ मिनेटमा ७९ वर्षको उमेरमा निधन भएका राष्ट्रगानका संगीतकार गुरुङको शवयात्रा ग्रान्डी अस्पतालबाट बौद्ध परम्परा अनुसार सुरु भएको थियो। 



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.