एजेन्सी-अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा डेमोक्र्याटिकको उम्मेदवारमा पूर्व प्रथम महिला हिलारी क्लिन्टन चयन भएकी छिन् । हिलारी संयुक्त राज्य अमेरिकाको इतिहासमा प्रमुख पार्टीबाट राष्ट्रपतिको उम्मेदवारी पाउने प्रथम महिला बनेकी हुन्। अमेरिकाको फिलाडेल्फियामा डेमोक्र्याटिकको जारी महाधिवेशनमा हिलारी सर्वसम्मतिले सो पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारमा चयन भएकी हुन् । हिलारीले आगामी नोभेम्बर ८ मा हुने राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकनका उम्मेदवार डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्नेछिन् । प्रारम्भिक निर्वाचनमा अन्तिम समयसम्म हिलारीसँग प्रतिस्पर्धा गरेका बर्नी स्यान्डर्सले अधिवेशनमा हिलारीलाई राष्ट्रपतिको उम्मेदवार घोषणा गर्न प्रस्ताव गरेका थिए । बहुमत प्रतिनिधिको समर्थनपछि डेमोक्र्याटिक पार्टीको राष्ट्रिय कमिटीकी अध्यक्ष मार्सिया फजले सो प्रस्ताव पारित गरेकी थिइन् । हिलारीको राजनीतिक यात्रा हिलारी रोदम रोदम क्लिन्टन अमेरिकाकी एक संघर्षशील महिला हुन् । उनले राजनीतिमा धेरै भूमिका खेलेकी छिन्– प्रथम महिला, सिनेटर र विदेशमन्त्री । अब उनी डेमोक्र्याटका तर्फबाट राष्ट्रपतिकी उम्मेदवार बनेकी छिन् । ६७ वर्षीय हिलारीले राष्ट्रपति बाराक ओबामाको प्रथम कार्यकालमा सन् २००९ मा विदेशमन्त्रीको भूमिका निभाइन् । ओबामा पुनः राष्ट्रपतिमा निर्वाचित भएपछि भने उनले विदेशमन्त्रीबाट राजीनामा दिएकी थिइन् । यसअगाडि सन् २००८ मा राष्ट्रपतिको उम्मेदवारमा प्राइमरी निर्वाचनमा ओबामासँग पराजित भएकी थिइन् । सन् १९४७ मा सिकागोमा जन्मिएकी हिलारीले सन् १९७३ मा याले ल स्कुलबाट स्नातक गरेकी छिन् । उनको सन् १९७५ मा बिल क्लिन्टनस“ग विवाह भएको थियो । उनी सन् २००० र २००६ मा न्युयोर्कबाट सिनेटरमा विजयी भएकी थिइन् । बिल क्लिन्टन अर्कान्सस राज्यको गभर्नर भएपछि उनी राजनीतिक रूपमा सक्रिय हुन थालेकी हुन् । प्रथम महिलाको रूपमा हिलारीले महिला अधिकार र विश्वव्यापी स्वास्थ्य उपचारका बारेमा खुलेर वकालत गरिन् । बिल क्लिन्टनको दोस्रो कार्यकालमा उनी पनि विवादमा तानिइन् । मोनिका लिविनस्की कान्डमा हिलारीले बिल क्लिन्टनको बचाउ गर्दै बिलको आलोचना गर्नेको विरोध गरेकी थिइन् । विदेशमन्त्रीका रूपमा आफ्नो चारवर्षे कार्यकालमा हिलारीले एक सय १२ देशको भ्रमण गरिन् । उनको कार्यकालमा अमेरिकाले सन् २०११ मा लिबियामाथि सैन्य हस्तक्षेप गरेको थियो । सन् २०१२ मा बेन्घाजीस्थित कूटनीतिक नियोगमा आक्रमणपछि उनी विवादमा तानिएकी थिइन् । आक्रमणमा अमेरिकी राजदूतलगायत दूतावासका केही कर्मचारीको मृत्यु भएको थियो । विदेशमन्त्रीको पद त्याग गरेपछि पनि हिलारी सार्वजनिक कार्यक्रममार्फत सर्वसाधारणमाझ लोकप्रिय बनिन् । विदेशमन्त्री हुँदा कार्यालयीय प्रयोजनका लागि आफ्नो निजी इमेल अकाउन्ट प्रयोग गरेको भन्दै उनको कडा आलोचना भएको थियो । निजी अकाउन्टबाट उनले विदेश मन्त्रालयका ३० हजार बढी इमेल ह्यान्डल गरेकी थिइन् । सन् २०१५ मा विदेश मन्त्रालयले हिलारीले ह्यान्डल गरेका हजारौँ इमेल सार्वजनिक गरेको थियो । एफबीआईले हिलारीमाथि आपराधिक अभियोग लगाउन नमिल्ने, तर संवेदनशील सूचनाको चुहावटमा चरम लापरबाही गरेको जनाएको थियो ।
हिलारी बनिन् राष्ट्रपतिको पहिलो महिला उम्मेदवार
Powered by Blogger.
0 comments
प्रतिक्रिया दिनुहोस्...