-->
अफगानिस्तानमा विदेशीले भने– ‘गोर्खा नभए निद्रै लाग्दैन’

काठमाडौं, १३ साउन । अफगानिस्तानको काबुलस्थित विदेशी नियोगका कूटनीतिज्ञहरूले आफू बस्ने र काम गर्ने भवन अगाडि गोर्खा (नेपाली) नभए चैनले बस्न र आनन्दले निदाउन नसक्ने बताएका छन् ।

कान्तिपुर दैनिकमा खबर छ – अधिकांश विदेशी कूटनीतिज्ञहरूले गोर्खाहरूकै कारण आफूहरूले ‘थप’ सुरक्षित महसुस गरेको जानकारी गराउँदै त्यस्तो बताएका हुन् । शनिबार काबुल पुगेको श्रम मन्त्रालयको एक टोलीसँग कुरा गर्दै उनीहरूले विदेशी कूटनीतिज्ञ तथा कर्मचारीहरूको सुरक्षा गर्न त्यहाँ पुगेका नेपालीको सुरक्षामा भएको कमजोरी सच्याउन तयार रहेको आश्वासन दिए ।

असार ६ गते तालिवानको आक्रमणमा परी काबुलस्थित क्यानडेली दूतावासको सुरक्षामा खटिएका १३ नेपालीको ज्यान गएको थियो । यसपछिको अवस्थाबारे बुझ्न श्रमको टोली काबुल पुगेको हो । क्यानडेली दूतावासले नेपालीहरूको बसोबास र आवतजावतमा गरेको हेलचेक्र्याइँले गोर्खाको मनोबलमा असर परेको भन्दै त्यसमा सुधार गर्न तयार रहेको उनीहरूले बताए । अफगानिस्तानका लागि क्यानडाका राजदूत डेवोरा ल्योन्सले त्यो घटनाले आफूहरू विचलित भएको भन्दै सबै क्षेत्रको सुधारमा लागेको जानकारी गराए । नेपालीहरूले पाउने क्षतिपूर्ति र अरू सुविधाबारे पनि छलफल भइरहेको उनले टोलीलाई जानकारी गराए । तर, काबुलमा मारिएका १३ नेपालीलाई क्षतिपूर्ति दिने विषयमा भने क्यानडा अहिलेसम्म मौन छ ।

श्रम मन्त्रालयको आयोजनामा भएकै कारण सहसचिव आभा श्रेष्ठको संयोजकत्वमा रहेको टोलीमा अध्यागमन विभागमा महानिर्देशक केदार न्यौपाने, नेपाल प्रहरीका एसपी प्रकाशजंग कार्की, वैदेशिक रोजगार प्रबर्द्धन बोर्डकी निर्देशक निर्मला थापा, पाकिस्तानस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत तीर्थराज अर्याल छन् ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.