-->
दाइजो तिर्न कतार गएका श्रीमानको उतै निधन, १८ वर्षे अर्चनालाई छोराछोरीको चिन्ता


सर्लाही, साउन १२ - सर्लाहीको सगरदिना-६ की अर्चनादेवी ठाकुर १८ वर्षकी हुनुभयो । तर उहाँसँग चार वर्षे छोरी र तीन वर्षे छोरा छन् । श्रीमानले भने एक वर्षअघि नै छाडेर गए । रोजगारीका लागि कतार गएका श्रीमानको उतै निधन भयो । श्रीमानको निधनपछि अर्चनादेवी फेरि माइत फर्किनुपर्यो ।
अर्चनाको लक्ष्मिपुर–४ का अखलेस ठाकुरसँग ५ वर्षअघि विवाह भएको थियो । गाउँमा कसैका पनि छोरी चेलीले १५ वर्षको भएपछि माइती घरमा बस्न पाउँदैनन् । गाउँलेको यो संस्कारले अर्चनालाई पनि छाडेन । अर्चनालाई त झनै १३ वर्षको उमेरमै अन्माएका थिए । १८ वर्षे अखलेससँग अर्चनाको विवाह भयो ।
अत्यन्तै साधारण परिवारका अखलेसको घरमा तीन धुर मात्रै जग्गा थियो । तीन दाजुभाइ थिए । अखलेसको भागमा एक धुर जग्गा पर्यो । दिनभरि काम गरेर ल्याएको कमाइले बेलुकीको चुलो बल्थ्यो । काम नगरेको दिन भोकै बस्नु पर्ने अवस्था । त्यहि भएर अखलेस दिनभरि घर बनाउने मिस्त्रीसँग काम गर्न जान्थे । फर्किँदा ल्याएको कमाइले परिवारको पेट पालिन्थ्यो ।
अखलेसका बुबा कमलेस ठाकुरको मानसिक अवस्था ठिक छैन । दुइ दाजु पनि दिनभर काम गरेर आफ्ना परिवारकै पेटका लागि खट्थे । एक वर्षको फरकमा अखलेस र अर्चनाका दुई सन्तान जन्मिए । त्यसपछि उनीहरुलाई थप जिम्वेवारी थपियो ।
अखलेसको परिवार गरिव भएकै कारण अर्चनाका परिवारले खासै दाइजो दिएका थिएनन् । विवाहमा २० हजार रुपैयाँ र एउटा साइकल मात्रै दिएका थिए । गरिव भएकै कारण यति दाइजोमा चित्त बुझाएर अखलेसको परिवारले अर्चनालाई विवाह गर्ने सहमति गरेका थिए ।
तर अखलेसकी दिदीको विवाह अलिक धनी केटासँग भयो । दाइजो नदिए केटाका परिवारले लानै मानेनन् । अन्तत अखलेसको परिवार ऋणपान गरेर भएपनि दिदीको विवाह तिनै केटासँग गरिदिने निर्णयमा पुगे । अखलेसकी दिदीको विवाहमा तीन लाख रुपैयाँ खर्च भयो । त्यो सबै ऋण थियो ।
गाउँमा काम गरेर कमाएको पैसा खाँदै ठिक्क । ऋण तिर्न सक्ने अवस्था भएन । ब्याज बढेको बढ्यै । दिदीको विवाहमा दाइजो दिँदाको ऋण तिर्नकै लागि अखलेस ७० हजार रुपैयाँ ऋण काडेर कतार गए ।
दिदिको विवाहको ऋण छिनाइसकेपछि अव त परिवारको अवस्था उकास्लान भन्ने आशा थियो परिवारमा । तर गएको मंसिरमा अखलेसको गाडी दुर्घटनामा कतारमै ज्यान गयो । १७ वर्षको उमेरमै अर्चना एक्लिनु पर्यो । दुई सन्तानलाई खुवाउने र उनीहरुको भविश्य पनि अर्चनाको हातमा आयो ।
अखलेसको निधन पछि पनि अर्चना र वालबच्चालाई परिवारले हेरेनन् । आफैं गरि खानु भन्दै जेठाजुहरु पन्छिए । अर्चनासँग कुनै विकल्प रहेन । गरि खान अंशका नाममा एक धुर जग्गा मात्रै थियो । गएको फागुनमा दुईटा नानी च्यापेर अर्चना माइती सगरदिना फर्किनुभयो ।
अहिले छोरी चार वर्षकी र छोरो तीन वर्षका भएका छन् । तर उनीहरुलाई पढाउने पैसा अर्चनासँग छैन । माइती पनि गरिव छन, केही दिन सक्ने अवस्था छैन । छोराछोरीको भविष्यको चिन्ताले अर्चनालाई सताउँछ तर विकल्प के ? त्यो थाहा छैन ।उज्यालो अनलाइनबाट साभार।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.