-->
त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या २२ पुग्यो, रौतहट शोकमा


भदौ १०, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चण्डीभञ्ज्याङ गाविसको कालीखोला नजिकैबाट शुक्रबार बिहान त्रिशूली नदीमा बस खस्दा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
घटनास्थलमा २१ जनाको मृत्यु भएको हो भने उपचारको क्रममा चितवन मेडिकल कलेजमा एक जनाको मृत्यु भएको हो। अन्य केही हराइरहेको आशङ्कामा प्रहरीले खोजी कार्य जारी राखेको छ । थप एक जनाको घटनास्थलमा खोजी गर्ने क्रममा शव भेटिएको हो ।
सनाखत भएकामा रौतहट जिल्लाका मात्र आठजना रहेका छन् । उनीहरुमा मुदलवा–३ बस्ने ३६ वर्षीय चितरन्दन यादव, लौकाह बस्ने ३० वर्षीय राकेश यादव, कटहरिया–९ बस्ने ३५ वर्षीय बृजकिशोर कुशहवा, महमदपुर–८ बस्ने २४ वर्षीय प्रमोद राम, बसतपुर–१ का २५ वर्षीय गणेशकुमार साह, मुदलवा–६ बस्ने ३३ वर्षीय राजेशप्रसाद यादव, गौरी नगरपालिका–१२ बस्ने ५५ वर्षीय जोखु साह, इनरुवा–७ बस्ने ६५ वर्षीय जोगेन्द्र गिरी रहेका छन् । दुर्घटनामा १६ जना घाइते भएका छन् । जसमध्ये १२ जनाको चितवन मेडिकल कलेज र चार जनाको कलेज अफ मेडिकल साइन्सेसमा उपचार भईरहेको छ ।
पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित ग १ ख ३७०९ नम्बरको बस गौरबाट ३० जना यात्रु लिएर आएको थियो । चन्द्रनिगाहपुरबाट चढेका नौ जना यात्रु र बसका स्टाफ तीन जना रहेको प्रहरीले जनाएको छ । नदीमा अझै केही बेपत्ता भएको अनुमान प्रहरीको छ ।
चितवन मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेमा भारत सितबनीका २८ वर्षीया सुगन्ती गुप्ता, सोही ठाउँका २८ वर्षीय राजेश गुप्ता, गुप्ताकी ५ वर्षीया छोरी सुयता गुप्ता, गुप्ताकै दुई वर्षका छोरा आकाश गुप्ता रहेका छन् ।
त्यसैगरी सोही मेडिकल कलेजमा उपचाररत बसका सहचालक धादिङका २० वर्षीय राजन पाण्डे, पोखरा उपमहानगरपालिका–१५ का २० वर्षीया दिपीका थापा, रौतहट इनरबारी–४ का २८ वर्षीय रीतेसकुमार ठाकुर, रौतहट चन्द्रनिगाहपुरका नौ वर्षीया मिली साह, निजका दुई वर्षीय भाइ प्रिन्स साह, रौतहट भेडीआही–७ का ३० वर्षीय शेस्स राज, भारत शिवहर जिल्लाका ३६ वर्षीय फेकु राय र रौतहट वडहरवा–२ का २४ वर्षीय प्रमोद दास रहेका छन् । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी कलेज अफ मेडिकल साइन्सेसमा चन्द्रनिगाहपुर–३ का २५ वर्षीय श्याम न्यौपाने, चन्द्रनिगाहपुर–५ का ४० वर्षीय सन्जय साह, सर्लाही वसन्तपुर–१ का २५ वर्षीय अविनासकुमार चौधरी र गौरी नगरपालिकाका–११ वर्षीय सुशान श्रीवास्तवको उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । एकै गाउँका र एकै परिवारका दुर्घटनामा परेपछि अहिले रौतहटको मुडबलवा गाविस शोकमा डुबेको छ ।- बाह्रखरी डटकम


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.