नवगठित सरकारले तीन महिना भित्र सबै प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक पठाईसक्न गरेको निर्णय कार्यान्वयन गर्न दुई महिना भन्दा बढी नलाग्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन्।
स्थायी, अस्थायी र सरकारी छात्रवृत्ति प्राप्त चिकित्सक मार्फत हाल संचालनमा रहेका २१४ वटै प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक पठाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ।
त्यस्ता चिकित्सकलाई काजमा बस्न पूर्णरुपमा बन्देज लगाउने समेत तयारी भैरहेको बताइएको छ।
प्रकृया
सबै प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका चिकित्सकको स्थितिको विवरण क्षेत्रिय निर्देशनालय मार्फत माग गरिसकिएको मन्त्रालयले जनाएको छ।
विवरण प्राप्त भए लगत्तै चिकित्सक पठाउने प्रकृया थालिने र त्यसका लागि तीन महिनाको समय नलाग्ने मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेतीले बताए।
उनले भने, "हामी डेढ/दुई महिना भित्र सबै प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक पठाइसक्छौं। "
वर्षेनी दुई सय भन्दा बढी चिकित्सक सरकारी कोटामा छात्रवृत्तिमा एमबीबीएसको पढाई सकेर आउने र हालै १५१ जना चिकित्सक अस्थायी रुपमा नियुक्त गरिएकाले चिकित्सकको अभाव नहुने उनको भनाई छ।
दरबन्दी
हाल देशभर रहेका सबै २१४ वटै प्राथमिक स्वास्थ्य केन्द्रमा १ जना चिकित्सकको दरबन्दी रहे पनि सबै केन्द्रमा चिकित्सक खटाइएका थिएनन्।
खटाइएका मध्ये पनि जिल्ला सदरमुकाम र सुविधा सम्पन्न ठाँउमा काजमा बस्ने गरेको गुनासो आएकाले अब काजको व्यवस्था अन्त्य गरिने सचिव उप्रेतीले बताए।
"काजमा राख्ने, चिकित्सक भएकै ठाँउमा उनीहरुलाई पठाउने काम अब हामी गर्दै गर्दैनौं। यस भन्दा अघि त्यस्ता काजहरु भएका होलान्। त्यो अब बिल्कुल बन्द हुन्छ।"
चिकित्सकलाई प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएसँगै उसलाई काम गर्नका लागि आवश्यक पर्ने प्रयोगशाला, अनि त्यही अनुरुपको कर्मचारी व्यवस्थापन भने चुनौतिको रुपमा रहेको उनको भनाई छ।
कुन कुन प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोगशालाका लागि आवश्यक पर्ने के कस्ता उपकरण छन् भन्ने तथ्याङक संकलनको काम पनि भइरहेको र चिकित्सक पठाए लगत्तै थप उपकरण र कर्मचारीको व्यवस्थान प्रकृया अघि बढाउने योजना रहेको बताइएको छ।
BBC Nepali
0 comments
प्रतिक्रिया दिनुहोस्...