देउवाले शेखरलाई भने, ‘परराष्ट्र मन्त्रालय दिन सक्दिनँ’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेता डा. शेखर कोइरालालाई परराष्ट्र मन्त्री बनाउन नसक्ने जानकारी दिएपछि कोइराला अरु मन्त्रालयमा नजाने भएका छन्। माओवादी, कांग्रेस गठबन्धनको नयाँ सरकारमा पार्टीको तर्फबाट परराष्ट्र मन्त्रालयको नेतृत्व लिन तयार भएका कोइरालालाई सभापति देउवाले बुधबार साँझ टेलिफोनमार्फत यस्तो जानकारी गराएको स्रोतले बतायो।
देउवासँगको कुराकानीमा आफूमा कुनै जागिरे मन्त्री बनेर झन्डा हल्लाउन सरकारमा जाने रहर नभएको भन्दै आफूलाई दिने नै भए परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिन र नभए सभापतिको सहजताका लागि इच्छाअनुसार निर्णय लिन कोइरालाले सुझाव दिएका थिए।
नेपालको पछिल्लो राजनीतिक अवस्था र यसको नेपाल र छिमेकी राष्ट्रहरूसँगको असन्तुलित सम्बन्ध र नेपालको शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा अन्तर्राष्ट्रिय क्षेत्रमा परेको नकारात्मक प्रभावमा सुधार ल्याउन आफूले परराष्ट्र मन्त्रालयमार्फत सकारात्मक भूमिका खेल्न सक्ने दाबी गर्दै कोइरालाले देउवासँग परराष्ट्र मन्त्रालय खोजेका थिए।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गरी कांग्रेस, माओवादी र मधेसी मोर्चाको सहकार्यमा नयाँ सरकार निर्माण गर्ने सभापति देउवाको अभियानलाई पूर्ण रुपमा साथ र समर्थन दिँदै आएका थिए।
पछिल्लो समय पार्टी नेता रामचन्द्र पौडेल समूहमा रहेका नेताहरूले सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै गुटको भेला गरी विरोधका स्वरहरू बाहिर ल्याइरहेको बेलामा त्यही समूहबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित कोइरालाले आफू कुनै गुट वा समूहमा नभई पार्टीको संस्थागत हितका लागि नेतृत्वलाई बलियो बनाउन लागेका थिए।
तर, एकाएक सभापति देउवाले बुधबार साँझ कोइरालालाई राजेको मन्त्रालय दिन नसक्ने आफ्नो बाध्यता रहेको जानकारी गराएपछि आफू सरकारमा सहभागी नहुने जानकारी कोइरालाले गराएका थिए। माओवादीका अध्यक्ष दाहाललाई प्रधानमन्त्रीमा निर्वाचित गरिसकेपछि पनि मन्त्रालयको बाँडफाँटमा कुरा नमिलिसकेको भन्दै देउवाले परराष्ट्र मन्त्रालयको टुंगो लागि नसकेको पनि बताएका थिए। त्यसपछि माओवादीका अध्यक्ष दाहाल निकट नेताहरूसँगको कुराकानीमा माओवादी नेताले परराष्ट्र मन्त्रालयमा कोइराला आउने अवस्थामा आफूहरू पनि सकरात्मक हुन सक्ने र अरुको हकमा त्यो मन्त्रालयको दाबी रहेको जानकारी गराएको स्रोतको दाबी छ।
स्रोतका अनुसार नाताले दाजु शेखरलाई मन्त्री बनाउने विषयमा पार्टी महामन्त्री शशांक कोइरालाले पनि सभापति देउवासँग यसअघि नै सिफारिससमेत गरेका थिए। आफूले रोजेको मन्त्रालय नपाउने स्पष्ट जानकारी पाएर पनि पौडेल पक्षका केन्द्रीय सदस्य तथा सांसदको बालुजाको एक पार्टी प्यालेस डाकेको भेलामा कोइराला उपस्थित भए पनि कुनै प्रतिक्रिया बिना कार्यक्रमको बीचमा उठेर गएका थिए।
त्यसपछि देउवा र दाहालबीच भएको मन्त्रालय बाँडफाँटमा परराष्ट्र मन्त्रालय कांग्रेसको भागमा परेपछि पनि आफूलाई देउवाले कुनै खबर नगरेपछि राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रीको सपथ ग्रहण कार्यक्रममा अनुपस्थित रहेका थिए।
0 comments
प्रतिक्रिया दिनुहोस्...