-->
नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई आज सपथ, शितल निवासमा भव्य तयारी

काठमाडौं, साउन २० । राष्ट्रपति विद्या भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज पद तथा गोपनियताको सपथ दिलाउने भएकी छिन् ।

अपराह्न ३ बजे हुने सपथ समारोहका लागि राष्ट्रपति कार्यालय शितल निवासमा भव्य समारोहको तयारी गरिएको छ ।

मुलुकको ३९औं प्रधानमन्त्रीका रुपमा दाहालले सपथ लिएलगत्तै केही मन्त्रीले पनि सपथ लिने कार्यक्रम तय गरिएको छ ।

सत्ता गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय बाँडफाँडको टुंगो लागि नसकेकाले आज सानो आकारको मन्त्रिमण्डल बन्ने जनाइएको छ ।

अहिलेसम्म प्रधानमन्त्रीसँग अर्थ र कांग्रेससँग उपप्रधानसहित गृह मन्त्रालय रहने मात्र सहमझदारी बनेको छ । दुई दलबीच मन्त्रालय बाँडफाँड टुंग्याउन कार्यदलले काम गरिरहेका छन् ।

यसअघि बुधबार संसदमा भएको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष दाहाल ३ सय ६३ मत प्राप्त गर्दै प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

दाहालको पक्षमा नेपाली कांग्रेस, मधेशी मोर्चा लगायत १५ दलले मत दिएका थिए । संसद बैठकमा उपस्थित ५७३ सांसद मध्ये दाहालको विपक्षमा २ सय १० मत परेको छ ।

नेकपा एमाले, राप्रपा नेपाल, जनमोर्चा, मजदुर किसान पार्टी लगायतका दलले भने दाहालको विपक्षमा मत हाले । यसअघि २०६५ सालमा दाहाल पहिलो पटक प्रधानमन्त्री बनेका थिए ।

Imagekhabar.com




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.