भारतले ओलम्पिकमा जितेको २६ वटा पदकलाई फ्लेप्स एक्लैले उछिने
भारतले आफ्नो ओलम्पिक सहभागिताको १ सय १६ वर्षे इतिहासमा जितेको कूल पदकभन्दा पनि बढी पदक अमेरिकाका कीर्तिमानी पौडीबाज माइकल फ्लेप्स एक्लैले जितेका छन्। सन् १९०० देखि ओलम्पिकमा भाग लिँदै आइरहेको भारतले हालसम्म २६ पदक जितेको छ। तर, फ्लेप्स एक्लैले २७ वटा पदक जितेका छन्।
उनले शनिवार बिहान सय मिटर बटरफ्लाई स्पर्धामा रजत जितेपछि भारतलाई पदक तालिकामा एक्लै उछिनेका हुन्। ३१ वर्षीय फ्लेप्सको यो पाँचौ ओलम्पिक सहभागिता हो। उनले रियोमा मात्र ४ स्वर्ण र १ रजत जितिसकेका छन्। उनको नाममा कूल २२ स्वर्ण, ३ रजत र २ कास्य छ। जसमा उनले १३ वटा स्वर्ण एक्लो प्रयासमै जितेका थिए।
फ्लेप्सको तुलनामा भारतले २४ वटा ओलम्पिक खेलेको छ। जसमा यो देशले ९ स्वर्ण, ६ रजत र ११ कास्य गरी कूल २६ पदक मात्र जितेको छ। विश्वको दोस्रो ठूलो जनसंख्या (१ अरब २१ करोड) भएको भारतले ओलम्पिकमा २६ पदकमध्ये ९ पदक पछिल्लो ओलम्पिकमा जितेको हो। ९ स्वर्णमध्ये ८ हकीको नाममा छ। एकलतर्फ एउटा स्वर्ण सुटिङका अभिनव बिन्द्राले जितेका छन्। उनी रियो ओलम्पिकको भारतीय झन्डात्तोलक खेलाडी हुन्।
0 comments
प्रतिक्रिया दिनुहोस्...