गोपाल दाहाल
‘धरानको आकाशमा तपाईं पनि उड्ने हो ? हामीले तपाईलाई उडाउने विचार गरिरहेका छौं ।’ निर्मल आचार्य दाइले यस्तो प्रस्ताव राख्दा सुरुमा त बुझिनँ । रोशन अधिकारी दाइले प्रष्ट पार्नु भयो ‘अब भेडेटार-धरानमा पनि पोखराको जस्तै प्याराग्लाइडिङ सुरु हुने भयो, उद्घाटनको दिन उड्न मन भए आउनुस् ।’
केही महिनाअघि पूर्वमा साहसिक पर्यटनको आकर्षण र सम्भावनाका विषयमा समाचार लेख्दा उहाँहरुसँग प्याराग्लाइडिङको बिषयमा लामो कुरा भएको थियो । पूर्वी नेपालमा पहिलोपटक आफुहरुले व्यवसायिक रुपमा प्याराग्लाइडिङ सुरु गर्न कम्पनी दर्ता गराएको र भूकम्पका कारण सुरु गर्न ढीला भइरहेको निर्मल दाइले बताउनुभएको थियो ।
त्यही प्याराग्लाइडिङ दसैंको मौकामा उडान सुरु गरिने भएपछि निम्ता दिनुभएको थियो । ‘पूर्वमा पहिलो चोटि व्यवसायिक उडान हुँदैछ, कतिको गाह्रो होला ? कतै भुइँमा पछारियो भने त गइयो !’ यस्तै सोच आयो । तर, डराई डराई ‘हुन्छ’ भनियो ।
उद्घाटनको अघिल्लो दिन परीक्षण उडान गरिने भयो । केही साथीहरुसँगै म पनि उड्न भनेर पुगें भेडेटार नजिकैको छोटीमोरङ डाँडामा ।
तर, पाँचवटा मात्रै टेन्डम थिए, प्याक भइसकेछ । ठिकै छ, पछि उद्घाटनकै दिन उडौंला भनेर फर्किएँ ।
भोलिपल्ट अर्थात असोज २४ गते नेपाल हवाइ खेलकुद संघका केन्द्रीय उपाध्यक्ष सोभित बानियाँ, ९ वर्षीया प्रतिजा अधिकारी र पाइलटहरु प्रेम केसी, माधव दाहाललगायतसँग धरान ४ स्थित ‘धरान स्काई एड्भेन्चर प्रालि’को कार्यालयबाट भेडेटारतर्फ लागियो ।
छोटी मोरङ डाँडा पुगेपछि मलाई पाईलट प्रेम केसीले उडाउने भए । उनले एउटा ठूलो झोला जस्तो जिउमा भिरिदिएपछि मलाई टेन्डम छेउमा उभ्याए । अनि आफुले इसारा गरेपछि दौडिएर भीरतिर हाम्फाल्न लगाए ।
भीरमा फालहान्नुपर्ने ? मनै सिरिङ्ग भयो । तै पनि चरा झैं उडेर मज्जा लिने पहिलादेखिको चाहना पूरा हुँदै थियो । चुपचाप बसें ।
हावाको गति विचार गरेपछि प्रेमले अघि भनेझैं दौडिन इसारा गरे । म अघिअघि दौडिएँ र भीरबाट फाल हानें । प्याराग्लाइड फुकेर माथि उड्यो, प्यारासुटझैं ।
अनि हामी हावामा तैरिंदै भीर, खोला र जंगलको माथिमाथि उड्न थाल्यौं । प्रेम रमाईला मानिस रहेछन्, उनले ल गीत गाऔं भन्दै सुरु गरे ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो….’ मैले पनि स्वर थपें ।
म डराउँछु भनेर होला उनले धरानको गीत गाऔं भने । मैले ‘धरानको बजारमा, माया बस्यो एकै नजरमा…’ गाएँ उनले स्वर थपे ।
माथि माथि जाँदा हावाले प्यारासुट हल्लाउँथ्यो । त्यसबेला घरिघरि मनै सिरिङ्ग हुन्थ्यो ।
गाउँदै अनि फोटो र भिडियो खिच्दै माथिमाथि पुग्दा विजयपुरमाथिको हरियो जंगल देखियो, त्यसपछि फुस्रेको आर्मी क्याम्प, धरान त माथिबाट नीलो पो देखिँदो रहेछ ! छानाभरि नीलो टीन टल्किएको देखिन्थ्यो । बाटोहरु देख्दा नक्सा हेरेजस्तै लाग्यो । माथिबाटै नियालें, वीपी प्रतिष्ठान, महेन्द्र क्याम्पस, घण्टाघर, फुटबल ग्राउण्ड !
हवाइजहाजबाट निक्कै तलतल सानासाना घरहरु देखिन्छन् । तर, प्याराग्लाइडिङबाट नजिकै ठूला-ठूला घरहरु देखिँदा रहेछन्, प्रष्टसँग । चराले सायद यस्तै देख्दो हो !
करिब २५ मिनेट उडेपछि धरान १६ को सर्दु खोला किनारमा पर्ने नौलोवस्तीमा अवतरण गर्न लाग्दै थियौं हामी । प्रेमले भने ‘हावा उल्टो गतिबाट आइरहेछ अलि समस्या पर्न सक्छ, तपाई खुट्टा माथि गर्नुस् ।’ मैले उनले भनेझैं गरें । उनले अवतरण गर्ने ठाउँमा लैजान खोजे । तर, हावाले साथ दिएन । मलाई डर लाग्यो ।
त्यसपछि खोलामै झर्ने भइयो । उनले खुट्टा टेक्न आग्रह गरे । मैले टेक्नै नपाई ग्लाईड भुईमा झरेछ, म हल्का पछारिएँ । तर, रमाईलो भयो ।
हामीलाई हेर्न सुकुम्बासी वस्तिका केटाकेटी, बुढाबुढी अघि नै जम्मा भइसकेका रहेछन् ।
हावामा कावा खाँदै चराझैं माथि आकाशमा उड्न पाए कस्तो मज्जा हुन्थ्यो होला ? म वाल्यकालदेखि यस्तै सोच्थें । केही वर्षअघि पोखरा जाँदा आकाशमा रंगीचंगी चङ्गा उडेझैं देखेको थिएँ । आहा ! कस्तो गजबको चङ्गा भनेर सोच्दा सोच्दै त्यसमा तुन्द्रुङ्ग मान्छेहरु झुण्डिएको देखेपछि अचम्म लागेको थियो । तर, आफुलाई चाहिँ उडीहाल्ने अवसर जुरेको थिएन । यसपटक आफ्नै ठाउँ धरानको आकाशमाथि कावा खाँदै रमाइलो गर्दै उड्न पाइयो ।
पहिला दशैंमा ‘भूईं छाड्नु पर्छ’ भन्दै बुढापाकाहरु पिङमा मच्चिन उक्साउँथे । अचेल सहरमा लिंगेपिङ हराउन थाल्यो । त्यसैले तर, दशैंमा प्याराग्लाइडिङ गरेर भूईं छाडियो । अनि केही छिनका लागि आकाशमै रमाइयो ।
यस वर्ष वैशाख १२ को भूकम्पले दिएको पीडा अनि भर्खरै मधेसमा भएको आन्दोलन र भारतीय नाकाबन्दीले दिएको दुःखले निराश भएका सर्वसाधारण नाका खुलेर जनजीवन सहज हुन थालेपछि पीडा भुल्दै रमाइलो मनाउने मुडमा छन् । यस्तो रमाइलोका लागि सबैभन्दा रौनक चाहिँं भेडेटारदेखि धरानसम्मको प्याराग्लाइडिङले ल्याउँदैछ । आगामी सातादेखि सर्वसाधारणका लागि प्याराग्लाइडिङ सेवा सुरु गर्ने तयारीमा सञ्चालकहरु लागिपरेका छन् ।
धरान स्काई एड्भेन्चर प्रालिले पूर्वमै पहिलोपटक धनकुटाको भेडेटारस्थित छोटीमोरङबाट धरान १६ नयाँवस्तीसम्म व्यवसायिक रुपमा प्याराग्लाइडिङ सुरु गर्दैछ । ६ वटा टेन्डम उडाउने अनुमति लिएको प्रालिले हाल ५ हजार ५ सय रुपैयाँमा करिब २५ मिनेट उडाउने बताएको छ ।
उडानका क्रममा धरानको ७० प्रतिशत भागसँगै इटहरी र तराईको समथर फाँटको दृष्यावलोकन गर्न सकिने प्यारा पाइलट प्रेम केसीले बताउँछन् ।
पोखरामा लामो समयदेखि प्याराग्लाइडिङ उडाइरहेका लाइसेन्स प्राप्त पाइलटहरु प्रेम केसी, माधव दाहाल, अशोक पराजुली, सरोज थापा र रविन्द्र थापाले धरानमा सेवा दिने छन् । उनीहरुका अनुसार धरानमा दृश्यावलोकन राम्रोसँग गर्न सकिन्छ । हरिया डाँडाकाडासँगै धरानको रमाइलो वस्ती हेर्दै उड्न पाउँदा सबै मख्ख पर्छन् ।
अर्का सञ्चालक निर्मल आचार्यका अनुसार प्रालिले केही समयपछि भेडेटारको नाम्जेमा बञ्जिजम्प पनि सुरु गर्ने तयारी गरिरहेको छ । उनी भन्छन् ‘अहिले प्याराग्लाइडिङसँगै घोडा सवारी पनि सञ्चालन गरेका छौं, तर प्याराग्लाइडिङमा पूर्वेलीहरुको बढी आकर्षण छ ।’
सुरुमा प्याराग्लाइडिङ विदेशी पर्यटकका लागि मात्रै लक्षित थियो । पोखरामा पहिला-पहिला नेपालीहरु प्याराग्लाइडिङ गर्न डराउँथे । विस्तारै नेपालीहरु पनि आकाशमा चरा जस्तै उड्दै रमाउन जान्ने भए ।
अहिले भूकम्प र नाकाबन्दीपछि बाहिरी पर्यटकहरु कम भएकाबेला प्याराग्लाइडिङ नेपालीहरुले नै धानेका छन् । त्यसैले अबका दिनमा प्याराग्लाइडिङ आन्तरिक पर्यटकले पनि धान्न सक्ने अवस्था बनेको नेपाल हवाई खेलकुद संघका केन्द्रीय उपाध्यक्ष सोभित बानियाँ बताउँछन् ।
अहिले देशभर ४० भन्दा बढी कम्पनीले प्याराग्लाइडिङ गराइरहेका छन् । करिब २ सय पाइलट यस क्षेत्रमा रोजगार छन् । उनका अनुसार अहिले धेरै पाइटल नेपालीहरु नै छन् र पर्यटक पनि नेपाली नै छन् ।
देश नै डाँडाकाँडाले भरिएको हुँदा नेपालमा सबैतिर प्याराग्लाइडिङ गर्न सकिन्छ । ‘प्याराग्लाईडिङले पूर्वका वासिन्दाले रमाईलो मात्र होइन, भारतदेखिका पर्यटकलाई उडाएर राम्रो आम्दानी पनि गर्न सकिन्छ भन्छन् पूर्वी नेपालका पर्यटन व्यवसायीहरु ।
0 comments
प्रतिक्रिया दिनुहोस्...