News
»
प्रधानमन्त्री ओली आज चीन जाने, यस्ता छन् एकसाताका कार्यक्रमहरु
प्रधानमन्त्री ओली आज चीन जाने, यस्ता छन् एकसाताका कार्यक्रमहरु
काठमाडौं, चैत ७ । प्रधानमन्त्री केपी शर्मा ओली आज साताव्यापी भ्रमणका लागि उत्तरी छिमेकी चीन जाँदै छन् । प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा चीन जान लागेका हुन् । भ्रमण दलमा उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहरा, शिक्षामन्त्री गिरिराजमणि
पोखरेल रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअलावा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, सरकारमा सामेल र प्रमुख प्रतिपक्ष दलका सांसदसमेत भ्रमण दलमा रहेका छन् । भ्रमण टोली निकै ठूलो भएको छ । प्रधानमन्त्रीको औपचारिक टोलीको सदस्य संख्या ५६ पुगेको छ भने व्यापारी र निजी क्षेत्रका व्यक्ति पनि यसमा थपिनेछन् । यस पटक चीनले नेपाली आतिथ्यमा समेत कम गरेको छ । यसअघि २० भन्दा बढीसम्मलाई आफ्नो खर्च बेहोर्ने चीनले अहिले ११ जनालाई मात्र सरकारी खर्चमा बोलाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङसँग समेत भेटवार्ता गर्ने तया भएको छ । समकक्षी लीसँग भने सोमबार नै दुईपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ । पारस्परिक हित र साझा चासोका विषयमा द्विपक्षीय औपचारिक वार्ता हुने परराष्ट्रले जनाएको छ । वार्तालगत्तै केही समझदारीमा हस्ताक्षर हुनेछ । पारवहन सम्झौता, फ्रि ट्रेड समझदारी, नेपालमा चिनियाँ बैंकको शाखा विस्तार, भगिनी सहर, काठमाडौंमा मोनो रेल, तातोपानी नाका सुचारु, केरुङ जोड्ने सडक दुई लेन थपेर चार लेन बनाउने, विद्युत् परियोजनामा लगानी, सांघाई सहयोग संगठनको डाइलग पार्टनरको सदस्यतासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने जनाइएको छ । प्रधानमन्त्री ओलीले चाइनिज पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका अध्यक्ष यु झेङसेङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । रेनमिन विश्वविद्यालयमा प्रवचन दिने तथा चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन सम्बन्धमा नेपाली र चिनियाँ व्यापारीको उपस्थितिमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्र पनि छ । बेइजिङमा राजनीतिक भेटघाट सकाएर प्रधानमन्त्री हेनान प्रान्त पुग्न हुनेछ । बोआओमा आयोजना हुने एशियाका लागि बोआओ मञ्चको ’एशियाको नयाँ भविष्य : नवीन आयाम, नवीन दृष्टिकोण’ विषयक सम्मेलनमा चैत ११ मा अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चिनियाँ प्रधानमन्त्री लीले पनि त्यहाँ सम्बोधन गर्ने कार्यक्रम छ । बोआओमा सम्बोधन गरेपछि उनी सान्याको नान्सानमा रहेको नेपाल पेभिलियनको भ्रमण गर्दै सिचुवानको छेन्दु र सान्सी प्रान्तको सियान पुग्ने र त्यहाँ प्रान्तीय नेताहरूलाई भेट्ने कार्यक्रम रहेको छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...