-->
कस्ता मोबाइल किन ब्लक गर्दैछ प्राधिकरणले?

अबैध रुपमा आयात गरिएका वा विदेशबाट ल्याइएका मोबाइल फोन नेपाल दूरसञ्चार प्राधिकरणले ब्लक गर्ने भएको छ।  प्राधिकरणले आगामी वैशाख १ गतेदेखि आईएमइआई नम्बर नभएका मोबाइल ब्लक गराउने तयारी गरेको हो। प्राधिकरणले तयार पारेको ‘राष्ट्रिय उपकरण पहिचान दर्ता’ (एनइआईआर) को आन्तरिक कार्यविधिमा आधिकारिक आईएमइआई नम्बर नभएका मोबाइल ब्लक गराउने निर्णय गरेको हो।

एनइआईआरको मुख्य उद्देश्य युनिट डिभाइस ट्र्याक एण्ड ब्लक गर्नु, चोरी भएका मोबाइल पत्ता लगाउने, अपराधिक क्रियाकलाप रोक्ने, राष्ट्रिय सुरक्षा, अबैध मोबाइल फोनको बजार कम गर्ने र राजश्व बढाउनु रहेको प्रधिकरणले जनाएको छ।

‘अब आउने वैैशाख १ गतेदेखि यो कार्य सुरु गर्ने मनसाय लिएका थियौँ,’ नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक मीनप्रसाद अर्यालले भने, ‘सबै सेवा प्रदायक कम्पनीले यो सेवा सर्पोट नगर्ने भएकाले हामीले हाल अस्थायी अन्तरिम व्यवस्था निर्देशिका बनाएर यो काम लागू गर्ने भएका छौँ। यसलाई हामी चरणबद्ध रुपमा अघि बढाउने तयारीमा छौँ। छ-छ महिनाको एक चरण गर्दै हामीले चरणबद्ध रुपमा यो काम अघि बढाउने तयारी गरेका छौँ।’

यो सेवा संचालन गर्न सबै अपरेटर सिस्टममा इआईआर (उपकरण पहिचान दर्ता) सुविधा हुनु पर्छ। एनसेल, स्मार्टसेल कम्पनीमा यो इआईआर सुविधा छ। नेपाल टेलिकमका केही उपकरणमा यो सुविधा नभएको र पछि यसलाई अपग्रेड गर्न सकिने अर्यालले बताए।

उनले भने, ‘पहिलो चरण अर्थात पहिलो छ महिनामा नेपालका अपरेटरको सिस्टममा यो सेवा संचालन गर्ने भएका छौँ। इआईआर सुविधाले कुनै पनि फोन नक्कली (फेक), क्लोन र नल (आईएमइआई नै नदेखाउने) मोबाइल फोनको पहिचान गर्छ। कतिपय यस्ता मोबाइल फोन छन् जसको आईएमइआई नम्बर कि त नक्कली छ, की दुईवटा फोनमा एउटै नम्बर छ र कतिपय मोबाइल बिना आईएमइआई नम्बरका छन्।

मोबाइल अपरेटर कम्पनीले यस्ता मोबाइल फोन पहिचान गरी सूची तयार पारेर प्रधिकरणलाई बुझाउनु पर्नेछ। साथै नक्कली वा आईएमइआई नभएका मोबाइल प्रयोगकर्ताहरुलाई अपरेटर कम्पनीबाट सूचना स्वरुप म्यासेज पठाइनेछ।’

‘दोस्रो चरणमा अर्थात् छ पहिनापछि सम्पूर्ण मोबाइल सेवा प्रदायक कम्पनीले पूर्णरुपमा इआईआर सुविधा जडान गर्नुपर्ने छ,’ उनले भने, ‘साथै यही चरणमा आईएमइआई इम्प्लान्टेसन प्रोग्राम पनि हामी सुरु गर्छाँै। यस कार्यक्रम अन्तर्गत नक्कली आईएमइआई भएका मोबाइलमा नयाँ सक्कली आईएमइआई राख्ने काम हुनेछ। त्यस्ता मोबाइल प्रयोगकर्ताले केही रकम तिरेर सक्कली आईएमइआई राख्न सक्नेछन्। रकम कति हुन्छ भनेर हाल भन्न सकिदैँन तर थोरै रकममा आईएमइआई राख्न सकिन्छ।’

मोबाइल प्रयोगकर्ताले आईएमईआई नक्कली छ भनी म्यासेज प्राप्त गरिसकेपछि नयाँ आईएमइआई राख्ने प्रक्रिया सुरु गर्नु पर्नेछ। यदि म्यासेज पाएर पनि प्रयोगकर्ताले कुनै चासो नदिएमा, एक निश्चित समयपछि उक्त मोबाइल पूर्णरुपमा ब्लक गरिने प्राधिकरणले जनाएको छ।

वैशाख १ गतेदेखि नेपाल भित्रिने सबै मोबाइल फोनको आईएमइआई नम्बर भन्सार कार्यलय, प्राधिकरण र मोबाइल अपरेटर कम्पनीमा दर्ता गरिने र नेपालमा हाल प्रयोगमा रहेका मोबाइललाई निगरानीमा राखिने पनि प्राधिकरणले जनाएको छ।

‘इआईआर सिस्टम तीन प्रकारको हुन्छ,’ अर्यालले भने, ‘ब्ल्याक लिस्ट, ग्रे लिस्ट र ह्वाइट लिस्ट। ब्ल्याक लिस्टमा मोबाइल पूर्णरुपमा बन्द हुन्छ। ग्रे लिस्टमा निगरानीमा राखिन्छ भने ह्वाइट लिस्टमा मोबाइल बिना कुनै बाधा अवरोध प्रयोग गर्न सकिन्छ।’

व्यक्तिगत प्रायोजनको लागि विदेशबाट मोबाइल ल्याइएमा फोनका आईएमइआई नम्बर नेपाल दूरसञ्चार प्रधिकरणमा दार्ता गर्नुपर्ने हुन्छ। दर्ता गरेपछि उक्त मोबाइल विना अवरोध चलाउन सकिन्छ। यसका लागि प्राधिकरणले उपलब्ध गराउने अनलाइन फारम भर्नुपर्नेे अर्यालले बताए।

यदि कुनै मोबाइल प्रयोगकर्ताको आईएमइआई नम्बर नक्कली छ भने नयाँ नम्बर राख्न आईएमइआई इम्प्लान्टेशन प्रोग्राममा सम्पर्क गर्नुपर्ने हुन्छ। काठमाडौंको महाबौद्ध तिर यस्ता अबैध मोबाइल धेरै भएको गुनासो आएका कारण पनि प्रधिकरणले यस्तो कदम चालेको अर्यालले बताए। त्यस्तै उनले आफ्नो मोबाइल नचिनेका व्यक्ति वा सकेसम्म अन्यलाई चलाउन नदिन र मोबाइलबाट हुन सक्ने अपराध तथा समस्याका बारेमा पनि सचेत रहन सुझाव पनि दिए।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.